तिलु शर्मा पौडेल/ दोहा, कतार

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीको आगामी (२०२३-२५) कार्यकालका लागि म्याग्दीका विक्रम कार्कीले आइसिसी सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् l कतारमा रहेर आफ्नो रोजगारीसँगै विभिन्न सामाजिक सङ्घ संस्था तथा गतिविधिमा सक्रिय रहँदै आएका कार्कीले आफ्नो उम्मेदवारी दिएका हुन् ।

 

कार्यसमिति छनोट समितिले गए राति जारी गरेको सूचना अनुसार आइसिसी सदस्यका ६ पदमा ९ जनाले मनोनयन दर्ता गरे पनि कार्की बलिया प्रतिस्पर्धीका रूपमा देखिएका छन् l डेढ दशक देखि कतारलाई कर्मथलो बनाएका कार्की सँग म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय समितिको महासचिव मोना कतारको अध्यक्ष सहित विभिन्न पदमा रहेर सामाजिक काम गरेको अनुभव छ l मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष समेत रहेका कार्की शालीन व्यक्तिका रूपमा परिचित छन् l

 

वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरको हक हितको लागि डटेर लड्न र एनआरएनए अभियानमा युवाहरूको भूमिका अझ सशक्त बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको  कुराकानीमा बताए । उनले कतारमा स्थापित सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैर आवासीय नेपाली सङ्घका अग्रज तथा सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा साथ, सहयोग र समर्थनका लागि अपिल पनि गरेका छन् ।

 

२७ जुलाई बिहान १० बजेबाट २८ जुलाई राति १२ बजे (नेपाली समय)सम्म मतदान गर्ने तालिका समितिले सार्वजनिक गरेको छ । ८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारको दसौँ महाधिवेशन २९ जुलाई दिउँसो २ बजेबाट होलिडे इन होटेल (द बिजनेस पार्क)मा हुने कार्य तालिका रहेको छ ।

Leave a Reply