नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस म्याग्दीले कार्यक्रम गरी मनाएको छ । वीपी स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेश सभा सदस्य बिमला गौचन सहित पार्टीका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका विपि कोइरालाको योगदानलाई सधै सम्झिएर पार्टीका गतिविधि अगाडी बढाउनुपर्नेमा जोड दिइएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । वीपीले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो।

Leave a Reply