म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा जुनियर डिभिजन तालिम सुरु भएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. ४९ जुनियर डिभिजन तालिम यसवर्ष बेनीको पुलाचौरस्थित जनकल्याण माविमा सञ्चालन गरिएको हो ।
पहिला सिनियर डिभिजन तालिम मात्रै सञ्चालन हुँदै आएकोमा २०७१ सालदेखि जुनियर डिभिजनको तालिम पनि सञ्चालन गरिएको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका सेनानी सशांकराज अर्यालले बताए । नेपालमा धेरै पहिलेदेखि नै एनसिसी तालिम सञ्चालन भएको बताउँदै तालिम अवधिभरमा सहभागी विद्यार्थीहरुलाई पाठ्यक्रमअनुसार प्रशिक्षण दिइने जानकारी दिए ।
बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले तालिमलाई प्रभावकारी तवरले सञ्चालन गर्नुपर्ने बताए ।  उनले अनुशासनपूर्वक तालिममा सहभागी भएर सक्रियताका साथ तालिम लिन सहभागी विद्यार्थीहरुलाई सुझाव दिँदै वडा कार्यालयबाट पनि आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले एनसिसी तालिम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्वको विकास गर्न तथा विद्यालयको चौतर्फी विकासका लागि तालिम ल्याइएको बताए ।कार्यक्रममा वडा सदस्य देवीदत्त पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष गणेशबहादुर हमाल, विव्यस ज्येष्ठ सदस्य श्यामप्रसाद श्रेष्ठ, विद्यालयका अभिभावकहरु यामबहादुर बानियाँ, मुकुन्द सुवेदी र टिका किसानले मन्तव्य व्यक्त गरेका थिए । एनसिसी तालिमका प्रशिक्षक ईमराज तामाङले जानकारी गराउनुभएको थियो ।
७९ दिनसम्म सञ्चालन हुने तालिममा जनकल्याण माविमा अध्ययनरत कुल ३६ जना विद्यार्थीहरु सहभागी भएका छन् । उनीहरुलाई विद्यालयमा आधारभूत तहको तालिम दिएपछि नवलपरासीको हात्तीखोरमा लगेर थप २१ दिनको तालिम दिइनेछ । कार्यक्रम विव्यस अध्यक्ष बानियाँको अध्यक्षता, विद्यालयका निमित्त प्रधानाध्यापक शिव बानियाँको सञ्चालन र जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।
सोही कार्यक्रमको अवसरमा जनकल्याण मावि अक्षयकोषबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा सहभागी भई प्रथम हुने गुञ्जन श्रेष्ठ, द्वितीय प्रशंसा पौडेल र तृतीय आकृति श्रेष्ठलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँचहजार रुपैयाँसहित मेडल लगाएर सम्मान गरिएको थियो । यसअघि अक्षयकोषबाटै पुलाचौर निवासी हाल प्रकाश माविबाट ४ जिपिएसहित एसईई उत्तीर्ण भएका समिर सुवेदीलाई नगद १० हजार र जेहेन्दार विद्यार्थी दिप्सन हमाललाई तीनहजार रुपैयाँले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

Leave a Reply