कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा बेलिब्रिज (पुल) निर्माण सम्पन्न भएको छ।

राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेलिब्रिज बिहिबारदेखि नियमित पूर्णरुपमा सञ्चालन भएको छ ।

बि.स २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले आसपासका क्षेत्रमा कटान सहित क्षती पुगेपछि बेलिब्रिज निर्माणका साथै सडक निर्माण र पहिरो पनि पन्छाउने काम सुरू गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

‘बेलिब्रिजको सम्पूर्ण निर्माण सकेरसवारी आउजाउका लागि सञ्चालनमा ल्याइएको छ,‘बर्खाको समयमा यात्रुलाई सहज भएको छ’प्रमुख प्रजापतिले भने । उनले पुलमाथि गाडी गुडाएर प्रेसर (चाप) नाप्ने काम समेत भएकाले एकपटकमा १७ टनभन्दा माथिका मालबाहक सवारीलाई भने आउजाउमा रोक लगाएको बताए ।

उनले पुलको भारवहन क्षमताले थेग्न सक्ने सवारी मात्रै आवतजावत गर्न मिल्ने भएकाले तोकिएको क्षमताभन्दा बढीको सवारीसाधन गुडाएमा कारवाही गरिने बताए ।

बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले तीन करोड ५६ लाखमा यसै महिना ठेक्का सम्झौता गरेको थियो ।कम्पनीमार्फत रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पनि पन्छाउने सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

विसं २०६४ मा जडान गरिएको महभिर र पोखरेबगरको बेलिब्रिज त्यहाँ पक्की पुल बनेपछि एक वर्षदेखि प्रयोगविहीन छ । सो मध्यै एक वटा बेनी–बगरफाँट र अर्को रुप्से खोलामा स्थानान्तरण गर्न लागिएको हो । बेनी–जोमसोम सडकखण्ड अन्तरगत बर्खाको समयमा पुलको अभावले सबैभन्दा सास्ती हुने रुप्से झरनामा बेलिब्रिज बनेपछि यात्रुलाई सहज भएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंङ शेरचनले बताए ।

पक्की पुल निर्माणको क्रममा रहेको रुप्सेमा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेपछि बेलिब्रिज बनाइएको थियो ।

गएको आवमा म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडा बगरफाँटको बस्तीलाई जोड्ने र अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ खोलामा बेलिब्रिज जडान गरिएको थियो ।

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ ।

विभिन्न ठाउँमा नदी कटान र पहिरोले क्षती पुगेपछि स्थानीयबासी, पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गतक विष्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्याधिक रहेको छ ।

Leave a Reply