राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई )को नतिजामा सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए ल्याए । नतिजापछि उनलाई बधाईको ओइरो लागेको छ। विद्यालयले बेनीबजारमा भब्य सम्मान सहित बधाई समेत दिएको छ । म्याग्दीमा समुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने पहिलो विद्यार्थी बनेका सुबेदीले नतिजाबाट सतप्रतिशत सन्तुष्ट रहेको बताए । बेनीअनलाइनसँग कुराकानी गदैं सुबेदीले मेहनतको फल मिठो हुन्छ भन्ने नतिजाबाट पु्ष्टी भएको भन्दै अव विज्ञान विषय लिएर भविस्यमा चिकित्सक बन्ने लक्ष्य रहेको बताए ।

‘मेरो लक्ष्य एउटा राम्रो चिकित्सक बन्ने हो,‘अब त्यही लक्ष्यलाई पच्छाउँदै अगाडी बढ्नेछु’ सुबेदीले भने । उनले अस्पतालमा बिरामी छट्पटाइरहेको देख्दा उनीहरुको सेवा गर्न पाए हुन्थ्यो जस्तो लाग्ने गरेको र अहिलेको नतिजाले समेत सोही यात्रामा प्रवेश गर्न सहज बनाइदिएको बताए । ‘नेपालमा धेरै उदाहरणीय चिकित्सक हुनुहुन्छ, उहाँहरुका बारेमा नियमित हेर्छु, उहाँहरुको कामले बिरामीले पाएको खुसी समेत देख्छु’ उनले भने ।

उच्च शिक्षापछि चिकित्सक बनेपछि आफ्नै जिल्लामा आएर समेत उपचार गर्ने उनले बताए । किन डाक्टर बन्ने भन्ने बेनीअनलाइनको अर्को प्रश्नमा उनले सबै पेशाको सम्मान गर्ने भएपनि बिरामीको रोग पहिचान र उपचारमा सघाएमा बिरामीसँगै परिवारमा समेत खु्सी हुने अवस्था आउने भएकाले परिवारलाई नै खुसी बनाउन सकिने पेशा चिकित्सक भएकाले सोही पेशा रोज्ने लक्ष्य रहेको बताए ।

थरिथरिका रोगबाट नागरिक बिरामी हुन्छ, अन्ततः परिवारमा अस्तब्यस्त र देश नै बिरामी हुने भएकाले मेरो देशका नागरिकलाई स्वस्थ बनाएर मुलुकको सेवा गर्न चाहेको सुबेदीको भनाई छ । मैले रोजेको पेशाभित्र समाजसेवा समेत समावेश छ । आफ्नो लागि मात्रै नभई समाजका लागि पनि जिउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । सानैदेखि विज्ञानमा रुचि भएकाले मैले यो विषय रोजेकी हुँ, परिवारको ईच्छा पनि यही नै छ। मैले एसईई दिएपछिको फुर्सदको समयमा पनि विज्ञान विषयको तयारीमा जुटेको थिए ।

Leave a Reply