म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका-७ बिमको अर्कला जोड्ने गरी मराङखोलामा पक्की पुल निर्माण भएको छ। सात मिटर चौडाइ र २५ मिटर लामो पक्की पुल निर्माण भएसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयवासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत गर्न सहज भएको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते दुई वर्षमा सक्नेगरी पोखराको फेवा सावित्री निर्माण कम्पनीसँग रु दुई करोड ७२ लाखमा ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न गरेसँगै सवारीसाधनसमेत आवतजावत गर्न थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए।
कोरोना महामारीलगायत कारण ढिलासुस्ती भएको पुलमा अन्तिम पटक थप भएको समयसीमाभित्र निर्माण कम्पनीले काम सम्पन्न गरेको उहाँले बताउनुभयो। म्याग्दीका पाँच स्थानीय तह जोड्ने गरी रिङरोडको परिकल्पना गरेर निर्माण गरिएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ, बिम हुँदै मराङ–मल्कवाङ र रघुगङ्गा गाउँपालिका–८ कुइनेखानी जोड्ने सडकअन्तर्गत मराङ खोलामा पुल नहुँदा सवारीसाधन खोलामै जोखिमपूर्ण तवरले आवतजावत गराउनुपर्ने बाध्यता थियो।
पुल निर्माण भएपछि वर्षात्का समयमा समेत सवारीसाधन आवतजावत गर्न सहज भएको मराङका वडाध्यक्ष राजाराम उपाध्यायले बताउनुभयो। उनका अनुसार बर्खायाममा भलबाढी आउने अन्य चार ठाउँमासमेत पुल निर्माण गर्न बाँकी छ।
यसैबीच पुलको अर्कलातर्फको सडक स्तरोन्नतिका क्रममा व्यवस्थित ढल निकास नहुँदा सडकको भल पुलमाथि नै जाने भएपछि पुलमा भलबाढीले क्षति गर्ने जोखिम बढेको छ। सडकको भलबाढीलाई व्यवस्थित निकास दिन आवश्यक पूर्वाधार बनाउन मालिका गाउँपालिकालाई पत्राचार गर्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

Leave a Reply