बेनी सामुदायिक माध्यमिक विद्यालय ब्यवस्थापकीय र शैक्षिकस्तरको आधारमा म्याग्दी जिल्लामा रहेका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट घोषित भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको एक निर्वाचन क्षेत्र एक उत्कृष्ट विद्यालय छनौट कार्यक्रम अन्तरगत गरिएको स्थलगत अनुगमनबाट बेनी नगरपालिका वडा नं ७ सदरमुकाम बेनी बजारमा अवस्थित विद्यालय उत्कृष्ट घोषित भएको हो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका 1 सय ६५ निर्वाचन क्षेत्रमा गरेको स्थलगत अनुगमनको क्रममा उत्कृष्ट घोषित भएको विद्यालय छनौट गरी सार्वजनिक गरेको थियो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले उत्कृष्ट घोषित विद्यालयलाई प्रोत्साहन स्वरुप ५ लाख पुरस्कार समेत दिने बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले बताए।

‘छनौटमा गरेको खवरबाट उत्साहित छौ, आगामी दिनमा पनि नतिजालाई कायम राख्नेछौ’ प्रअ श्रेष्ठले भने । उनले विद्यालयको शैक्षिक, ब्यवस्थापकीय तथा सम्रग विषयमा केन्द्रबाट स्थलगत रुपमा अनुगमन गरेपछिको नतिजा भएकाले यो सम्मानका लागि विद्यालयको सामु्हिक प्रयासबाट प्राप्त सफलता भएको बताए ।

अनुगमन टोलीले शैक्षिक गुणस्तरमितब्यी, पारदर्शिकता, सहभागीता,प्रभावकारीता, सन्तुष्ट,नेतृत्व,ब्यवस्थापन, निष्पक्षता तथा समता,सर्वसुलभता लगायत विभिन्न मापदण्डको आधारमा नतिजा सार्वजनिक गरेको थियो । नतिजासँगै प्राप्त भएको पुरस्कारलाई शैक्षिक उपलब्धी हासिल गर्ने विभिन्न क्षेत्रमा खर्च गर्नुपर्ने छ ।

बेनी सामुदायिक बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट विद्यालयको सम्मान प्राप्त गरेपछि अहिले देशभरबाट शैक्षिक भ्रमणका लागि लर्को लाग्ने विद्यालय बनेको छ । हालसम्म विभिन्न जिल्लाबाट १ सय ५७ विद्यालयले भ्रमण गरेका छन् ।

बि.स २०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।२०६३ साल देखी माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ

Leave a Reply