म्याग्दीको सदरमुकाम बेनीमा विश्व सुर्तीजन्य पदार्थरहित दिवस–२०२३ को अवसरमा सुर्तीजन्य पदार्थरहित पुस्ताका लागि साथी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाको नगर प्रमुख सुरत केसीले पछिल्लो समय सुर्तीजन्य पदार्थको प्रयोग तथा लागूऔषधको प्रयोगमा विद्यालय उमेर समूहका बालबालिकाहरु लाग्ने गरेको पाइएकाले त्यसतर्फ लाग्न नदिनका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लोपटक बजारमा हुक्का तान्ने प्रवृत्ति बढेर गएकाले यसको असर एकसय वटा खिल्ली चुरोट ताने बराबरको असर गर्ने भएकाले हुक्का नतान्न सहभागी विद्यार्थीलाई सुझाव दिनुभएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख कमलप्रसाद ढकालले किशोरावस्था अलि संवेदनशील भएको बताउँदै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा सिकेका ज्ञान तथा सिपलाई व्यवहारमा पूर्ण रुपले उतार्नुपर्ने बताउँदै सुर्तीलगायत लागूपदार्थ दुव्र्यसनीबाट टाढै रहनुपर्ने बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने र प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालको विशेष उपस्थिति रहेको कार्यक्रमको स्वागतसहित उद्देश्यमाथि स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले प्रकाश पार्नुभएको थियो भने सिनियर अनमी लिला गौतमले सञ्चालन गर्नुभएको थियो ।

विद्यालयमा आधारित साथी शिक्षा कार्यक्रमबाट धु्रमपान तथा सुर्तीजन्य पदार्थ निवारण कार्यक्रम अघि बढाउने तथा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरु, स्वास्थ्य जोखिम, लत, प्रकृति र सुर्तीजन्य सेवनसँग सम्बन्धित सामाजिक परिणामहरुको बारेमा शिशिक्ष गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

यसैगरी ध्रुमपान तथा सुर्तीजन्य पदार्थहरुको सेवन त्याग्न तथा छोड्न सिकाउने उपायसहित सहभागीलाई उनीहरुको विद्यालय एवं समुदायस्तरमा सुर्ती नियन्त्रण नीतिहरुको पैरवी गर्न सशक्त बनाउने उद्देश्य पनि राखिएको थियो ।

हरेक वर्ष मे ३१ तारिखमा सुर्तीजन्य पदार्थरहित दिवस मनाइने हुँदा यो अवसरमा धुम्रपान तथा सुर्तीजन्य पदार्थले व्यक्ति, परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराउने गरिन्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । सुर्तीजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर हुनबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धुम्रपान तथा सुर्तीजन्य बस्तु नखान पनि डाक्टरको सुझाव छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थले मुखको वा फोक्सोको क्यान्सर मात्र नभई कम्तीमा पनि शरिरका अरु १२ अङ्गको क्यान्सर गराउने जोखिम हुन्छ । नेपाल धुम्रपान गर्ने देशहरुको २२औं स्थानमा पर्छ । सुर्तीजन्य पदार्थ तथा धुम्रपानले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्दछ ।

Leave a Reply