बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा गलकोट दरबार छ। तत्कालीन मल्ल राजाले गलकोट राज्यको सञ्चालन त्यही दरबारबाट गर्थे।

गलकोट दरबार अहिले पर्यटकीय हब बनेको छ। दरबार हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरू हरिचौर पुग्छन्।

बागलुङको पुरानो सदरमुकाम र गलकोट दरबार पहिल्यैदेखि चर्चित थियो। अहिले टेउवाको खुला मूर्तिकला संग्रहालयका कारण पनि हरिचौर लोकप्रिय पर्यटकीय गन्तव्य बनेको छ।

यी तीन आकर्षणमध्ये मल्लकालीन दरबार गलकोट दरबार नै मुख्य आकर्षकको केन्द्र मानिन्छ। हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ।

अहिले गलकोट दरबारमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ। दरबार अवलोकन गर्ने पर्यटकको संख्यामा वृद्धि भएसँगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेशबम मल्लले बताए।

जीर्ण बन्दै गएको बागलुङको गलकोट दरबारका यस वर्ष पाँच झ्याल पुरानै शैलीमा फेरिएको मल्लको भनाइ छ। दरबारको वरपर फैलिएको बगैंचामा अहिले सुन्तलाका बोटसमेत हुर्किरहेका छन्।

‘दरबार एक सय दुई वर्ष पुरानो हो, यहाँ सिमेन्टको प्रयोग गरिएको छैन, नितान्त स्थानीय कच्चा सामग्रीको प्रयोग गरेर बनाइएको छ, बगैंचालाई व्यवस्थित गराउन सुन्तलासमेत रोपिएको छ,’ मल्लले भने, ‘दरबार संरक्षण गर्नका लागि यहाँ सिसौको काठ खोजिरहेको छु, पुरानै शैलीमा झ्याल तथा ढोका फेर्न आवश्यक छ, अहिले पाँच वटा मात्रै झ्याल फेर्न सके पुरानै शैलीमा निर्माण गर्दा झ्याल तथा ढोका निकै खर्चिलो रहेछ।’

मल्लका अनुसार दरबार हेर्न आउनेहरूले इतिहासको विषयमा खोजी गर्ने भएकाले दरबारको विषय समेटिएको सूचना पार्टी राख्ने, पुरानो पोखरी पुनर्निर्माण गर्ने र दरबार क्षेत्रमा भएको फलफूलको बोटलाई व्यवस्थित गराउने योजना छ।

बिदामा दरबार घुम्न आउने पर्यटकको संख्या बढ्ने उनको भनाइ छ।

मल्लले आफ्नै हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउने गरी आफूले माछापोखरी बनाएर विभिन्न प्रजातिका माछासमेत पालेको बताए।

‘दरबार नजिकै माछापोखरी थियो रे, त्यसैले अहिले बाबुबाजेको सम्झनाका लागि माछापोखरी बनाएको हुँ, यहाँ रंगीन माछा छन्, जुन खानका लागि भन्दा पर्यटक आकर्षित गर्नका लागि हो,’ मल्लले भने, ‘दरबारको रेखदेख गर्ने जिम्मा मेरै काँधमा छ, मैले दरबारलाई पुरानै अवस्थामा राख्न व्यक्तिगत खर्चमा काम गरिरहेको छु, दरबार पुनर्निर्माणका लागि काठको खोजीसमेत भइरहेको छ।’

गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ। वि.सं २०३९ मा राजा भरतबमको निधन भएको थियो। राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधवबम मल्लको काँधमा आएको थियो। परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशस्त्र द्वन्द्वका समयमा २०५९ वैशाखमा हत्या भएको थियो। त्यसपछि मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौं गए पनि संरक्षणका लागि राजाका नाति मञ्जेशबम मल्ल समय–समयमा दरबारमा आएर बस्ने गरेका थिए।

कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकाले उक्त दरबार अध्ययन गर्ने थलोका रूपमा समेत विकसित भइरहेको छ।

विसं १९७९ मा ढुंगा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौं र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन्।

तस्विरमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा निकै फरक अनुभूति भएको बागलुङ बजारबाट गलकोट दरबार हेर्न पहिलोपटक पुगेका दिलीप प्रतेल बताउँछन्।

‘पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो, भूगोल दरबार तथा बगैंचा देख्दा राजा बस्ने ठाउँजस्तै छ,’ प्रतेलले भने, ‘यसको पुनर्निर्माण गर्न आवश्यक देखेँ, केही कामको थालनी भएको रहेछ, दरबार संरक्षण र प्रचार गर्न सके धेरै पर्यटक बोलाउन सकिने सम्भावना रहेछ।’

दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार घुम्दा आनन्द महशुस भएको उनले बताए।

बाबुको हत्यापछि विस्थापित परिवार नफर्कंदा दरबारको विभिन्न संरचना लथालिङ्ग भए पनि पछि नाति मन्जेशबम मल्ल आएर दरबारलाई संरक्षण गर्न थालेका हुन्।

वि.सं २०१७ सम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालनसमेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो। विसं २०१९ मा बागलुङ जिल्लाको सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो।

पर्यटकीयस्थल घुम्टेपहाडको काँधमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाईघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्त हेमन्त भण्डारी जानकारी दिए।

Leave a Reply