नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले १३ जना पत्रकारको मात्र सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत म्याग्दी शाखाले ५७ जना मध्ये १३ जना साधारण सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय गरी प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

विहिवार बसेको शाखाको वैठकले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले निर्धारण गरेको मापदण्डलाई पूर्णरुपमा पालना गर्दै उक्त संख्यामा सदस्यता नविकरण गर्ने सर्वसम्मत निर्णय भएको शाखा अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

 

पत्रकारिता पेसामा पूर्णकालिन रुपमा संलग्न भएकाहरुको मात्र सदस्यता नविकरण भएको उहाँले बताउनुभयो । नयाँ सदस्ताका लागि परेका आवेदनका हकमा पनि सुद्धीकरण अभियानले नसमेटेकाले नयाँ सदस्यताका लागि कसैलाई पनि सिफारिस नगर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सदस्यता सुद्धीकरणलाई सहज बनाउन शाखको विहिवार विहान वसेको वैठकले उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा शाखाका सल्लाहकार ठाकुरप्रसाद आचार्य,प्रेस चौतारीका अध्यक्ष प्रताप बानियाँ,प्रेस युनियनका अध्यक्ष राकेश शर्मा र प्रेस सेन्टरका अध्यक्ष कमल खत्री रहनुभएको थियो ।

कार्यदलको वैठकले गम्भिर रुपमा छलफल गरेर नविकरण गर्ने सदस्य,मानर्थ सदस्य र ससम्मान रुपमा विदाई गर्ने सदस्यहरुको नामावली तयार पारी प्रतिवेदन अध्यक्ष पौडेललाई बुझाएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनलाई कार्यसमितिको वैठकबाट सर्वसम्मत रुपमा निर्णय भएको शाखाका सचिव सन्तोष गौतमले जानकारी दिनुभभयो ।

पत्रकारितामा सक्रिय नरहेर राजनीतिमा रहेका, स्थायी वा अस्थायी सरकारी सेवा, वैदेशिक रोजगारी र व्यापार व्यवसायमा वा पूर्णकालिन रुपमा अन्य पेसामा संलग्न भएकाहरुको सदस्यता नविकरण नगरिएको कार्यदलका संयोजक तथा शाखाका उपाध्यक्ष गौतमले बताउनुभयो ।

गौतमका अनुसार शाखामा रहेर विगतका दिनहरुमा विशेष योगदान गर्नुहुने २२ जना सदस्यलाई मानर्थ सदस्यता प्रदान गर्ने र अन्यलाई ससम्मान रुपमा विदाई गर्ने निर्णय शाखाले गरेको छ ।

Leave a Reply