म्याग्दीको सदरमुकाम बेनीबजारदेखि बागलुङका लागि छुट्ने सार्वजनिक सवारीसाधनमा नयाँ भाडादर कायम भएको छ । गत शुक्रवार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको वैठकले सदरमुकामबाट विभिन्न स्थानमा छुट्ने सवारीसाधनहरुमा नयाँ भाडा कायम गरेको हो ।

वैठकले बेनीदेखि १७ किलोमिटरको दुरी रहेको बागलुङका लागि बस र जीपमा प्रति यात्रु एकसय रुपैयाँ भाडा तोक्ने निर्णय गरेको छ । यसैगरी ट्याक्सी रिर्जभका लागि नौसय रुपैयाँ र प्रति यात्रु दुईसय २५ रुपैयाँ भाडा तोकिएको छ ।

त्यस्तै १३ किलोमिटर दुरी रहेको बेनी–मालढुङ्गा सडक हाल स्तरोन्नतिको क्रममा रहेको हुँदा यो सडकमा बसमा प्रति यात्रु एकसय रुपैयाँ भाडा तोक्ने वैठकमा सहमति भएको छ ।
त्यसैगरी बेनी–गलेश्वर सडकखण्डमा ट्याक्सी रिजर्भमा दुईसय ४० रुपैयाँ तथा बस र जीपमा भने प्रति यात्रु २५ रुपैयाँ भाडादर कायम गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक सूचना प्रकाशित गरेर जानकारी दिएको हो ।

बेनी–घाँसासम्म बस र जीपमा प्रति यात्रु पाँचसय रुपैयाँ भाडा कायम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तद्वारा हस्ताक्षरित जिल्ला प्रशासन कार्यालय म्याग्दीको सूचनामा उल्लेख गरिएको छ । तोकिएको भाडादर हिजो (शनिवार)देखि लागू गरिएको प्रशासनले जनाएको छ । उल्लेखित रुट, खण्डबाहेक अन्य रुट र खण्डमा यसअघि कायम गरिएको भाडादरलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

म्याग्दी जिल्लाभित्र निर्माण भएका सडकहरुमा सवारीसाधन सञ्चालन हुने सडकखण्डहरुको सम्पूर्ण पक्षको अध्ययन गरी सवारीसाधनको किसिम र सडकको अवस्थाअनुसार भाडादर निर्धारणको सिफारिस प्रतिवेदन बनाउन सहायक प्रजिअ पन्तको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

वैठकले उपसमितिमा यातायात व्यवस्था कार्यालय बागलुङको प्रतिनिधि, सम्बन्धित पालिकाहरुको प्रतिनिधि, यातायात प्रालिका प्रतिनिधिहरु, ट्राफिक प्रहरी कार्यालयको प्रतिनिधि सदस्य र पूर्वाधार विकास कार्यालयको अधिकृत सदस्य–सचिव रहने गरी निर्णय गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

सबै सार्वजनिक साधनहरुमा ज्येष्ठनागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति र महिलाका लागि आरक्षित गरिएको सिटमा प्रष्ट रुपमा देखिने गरी आरक्षण सिटको विवरण लेखेर टाँस्ने तथा आरक्षित सिटलाई सोही बमोजिम प्राथमिकता दिने गरी सुरक्षित गर्ने, गराउने व्यवस्था मिलाइनेछ ।

म्याग्दी सदरमुकाम बेनीबाट ग्रामीण भेग तथा अन्यत्रको लागि छुट्ने सबै प्रकारका सवारीसाधनलाई सम्बन्धित स्थानको बसपार्कबाट मात्र छुट्ने व्यवस्था मिलाउने समेत वैठकमा निर्णय भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेशमा चल्ने सवारीसाधनको भाडादर घटाएको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेसँगै सरकारले भाडादर पनि घटाएको हो । डिजेल र मट्टितेलको मूल्य एकसय ६५ रुपैयाँबाट एकसय ५५ रुपैयाँ प्रतिलिटरमा झरेको छ । यातायात व्यवस्था विभागले जनाएअनुसार स्वचालित मूल्य प्रणालीको आधारमा नै सार्वजनिक यातायातको भाडादर घटेको हो । भाडादर ३.२० प्रतिशतले घटेको जनाइएको छ ।

Leave a Reply