एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ। आज नेपाल यूएईलाई  ७ विकेटबाट हराउँदै उपाधी जित्दै एसिया कपको लागि छनौट भएको हो।

एसिया कपमा  नेपालले अव भारत र पाकिस्तानसँग खेल्ने छ। नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाउन सफल भएको हो। एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ। समूह ए मा नेपाल ,भारत र पाकिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

आज यूएई विरुद्ध जितको लागि १ सय १८ रनको झिनो लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।

हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलेको यूएई ११७ रनमा अल आउट भयो। आज यूएईले ९ विकेटको क्षतिमा १०६ रनबाट खेल्न सुरु गरेको हो।  हिजो सोमबार वर्षाको कारण २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा आज मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल हुन पुगेको हो।

जवाफमा नेपालले  ३०  दशमलब ३ ओभरमा  ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो।  नेपालको जितमा गुलशन झा  ८४ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे। भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे।

गुलशनको यो  एकदिवसीय करिअरको दोस्रो अर्धशतक हो। उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन्। अघिल्लो महिना गुलशनले नेपालमा भएको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए।

नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन। नेपालले दोस्रो ओभरको दोस्रो बलमै सुरुवाती बलर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो। उनलाई यूएईका स्पिनर रोहन मुस्तफाले  एलबीडब्लू आउट गरे।

त्यसैगरी सातौं ओभरको पहिलो बलमा यूएईका आयन खानले अर्का नेपाली शुरुवाती बलर आसिफ शेखलाई ८ रनमा एलबीडब्लू  नै आउट गरे। आठौं ओभरको अन्तिम बलमा फेरी मुस्तफाले नेपाली कप्तान रोहित पौडेललाई १ रनमै बोल्ड आउट गरेपछि नेपाल २२–३ को अवस्थामा पुगेको थियो। युएईले सुरुवाती १८ ओभर सम्म  स्पिनरलाई नै बलिङ गराएको थियो।

युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए।

हिजो किर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३दशमलब १ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो। सोमबार वर्षाको कारण २७दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा आज  मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल हुन पुगेको हो।

युएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाए।  अन्तिम विकेटको रुपमा आएका युएईका जुनैद सिद्दिकले   १० रन बनाए।  युएईका कप्तान मोहम्मद वासिम ११ रन बनाए भने बाँकी व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। यूएईलाई सस्तैमा आउट गर्न नेपालका बलर ललितनारायण राजवंशीले  ७ दशमलब १ ओभरमा २ मेडन ओभर सहित १४ रन खर्चेर ४ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए। सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिए।

Leave a Reply