वसन्त ऋतुको सौन्दर्यमा रमाउन र मधेशको गर्मी छल्न १४ जना साथीहरु सहित म्याग्दीको पुनहिल पुग्नुभएका नवलपुर अमरापुरीका सुन्दर सापकोटाले न हिमाल हेर्न पाउनुभयो न त,बनैभरी फुलेका विभिन्न प्रजातिका लालीगुराँस हेर्दै रमाउन ।

घोडेपानी,पुनहिल लगाएत म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमणका लागि एक साताको विदा लिएर म्याग्दी आउनुभएका सापकोटा र उहाँका साथीहरुले प्रकृतिको दृश्यवलोकन गर्न त पाउनु भएन नै आँखा र टाउको दुख्ने,आँखाबाट आँसु र नाकबाट पानी बग्ने शारीरिक समस्याले समेत ग्रस्त हुनुभयो ।

म्याग्दीका ग्रामीण क्षेत्रहरुमा समेत तुवाँलोले प्रदूषण बढाएपछि वसन्तको मौसममा ग्रामीण क्षेत्रमा पुगेका पर्यटक र स्थानीयवासीहरुको दैनिकी समेत प्रभावित बनेको छ । वायु प्रदूषण र मौसम परिवर्तनका कारण आँखा र नाक पोल्ने, घाँटी दुख्ने,रुघा लाग्ने,ज्वरो आउने जस्ता समस्याहरु देखिन थालेपछि हिउँदे वाली थन्काउने,मकै गोड्ने लगाएतका कामहरु छोडेर स्थानीय वासिन्दाहरु स्वास्थ्य संस्था धाउन थालेका छन् । म्याग्दीका पर्यटकीय स्थलहरुमा घुम्न गएका आन्तरिक तथा वाह्य पर्यटकहरु पनि बसाइँ छोट्याएर फर्किन थालेका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

मंगलवार म्याग्दीको बेनी नगरपालिका ३ मा पर्ने पर्यटकीय स्थल बेलढुङ्गा घुम्न आउनुभएका बागलुङ रामरेखाका सतिश घर्तीले तुवाँलोका कारण बेलढुङ्गाबाट नजिकको स्वर्गाश्रम, म्याग्दी नदी,हिमाल र बेनी बजारको दृश्य समेत देख्न नपाएको बताउनुभयो ।”प्रदूषण सहरमा मात्रै होइन ग्रामीण क्षेत्र र बनजङ्गलमा समेत फैलिइसकेछ,हिमाल पनि प्रदूषणले ढाकिदिएछ , प्रकृति पनि तुवाँलोले छेकिदिएछ” घर्तीले भन्नुभयो।

आकाश तुवाँलोले भरिएपछि घाम पनि छेकिएको छ । करिब एक किलोमिटरको दूरीका गाउँसमेत देख्न मुस्किल छ ।समुद्री सतहदेखि २ हजार ६ सय १४ मिटर उचाइमा रहेको बेलढुंगाबाट विगत एक सातायता न हिमाल देख्न पाइएको छ न प्राकृतिक सौन्दर्य नै ।

म्याग्दी र छिमेकी जिल्ला पर्वत तथा बागलुङका विभिन्न ठाउँहरुमा लागेको डढेलोका कारण जिल्लाका ग्रामीण वस्तीहरु समेत प्रदूषणको चपेटामा परेका बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार वनजंगलमा लागेको डढेलोबाट निक्लेको धूवाँले सदरमुकाम बेनीसहित जिल्लाका ग्रामीण भेगहरुमा समेत प्रदूषण बढेको छ । बेनी नगरपालिका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा आइतबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आइसकेको भए पनि निक्लेको धूवाँले भने वरपरका बस्ती अझै छोपेको छ ।

वनभित्र ढलेका ठूला रुखका मुढा, रुखहरूमा सल्केको आगो भने अझै देखिन्छ । डढेलोले भकिम्लीका करिव २५ हेक्टर क्षेत्रफलको वन क्षेत्रमा क्षति पुगेको छ । वैशाख लागेसँगै डढेलोमा म्याग्दीको करिव ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो ।

सदरमुकाम वरपरका सामुदायिक वनमा मात्र होइन, माथिल्लो क्षेत्रका राष्ट्रिय वन तथा संरक्षण क्षेत्रका वनमा डढेलो लागेकाले ग्रामीण क्षेत्रहरुमा समेत प्रदूषण बढेको उहाँको भनाइरहेको छ ।

बढ्दो खडेरीका कारण हिमालमुनिका बुक्यानहरूमा समेत दैनिक डढेलो लागिरहेको छ । कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्री खडेरीले गर्दा राष्ट्रिय वनमा दैनिक डढेलो लागिरहेको बताउनुभयो । बस्तीदेखि धेरै टाढा हिमालमुनिको जंगलमा डढेलो लागेकोले चासो कम, क्षति बढी भइरहेको उहाँको भनाइ छ ।

गत वर्ष तीन सय ४१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको कार्यालयले जनाएको छ । जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल छ । त्यसमा ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ ।

वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्ये २४ हजार २ सय २ हेक्टर वन छन् । जसमा ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ ।

यी वन क्षेत्र हिउँदमा डढेलो र वर्षामा भूस्खलनका साथै सडक विस्तारको बहानामा फडानीको सिकार वन्दै आएका छन् ।

वनमा लागेको डढेलोले उत्पन्न प्रदूषणका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्दै गएको बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शंकर लामिछानेले बताउनुभयो । उहाँका अनुसार दैनिक ३ सय बढी बिरामी आउने गरेको अस्पतालमा अधिकांश रुघाखोकी, एलर्जी, दमलगायत श्वासप्रश्वास तथा निमोनियका बिरामी रहेका छन् ।

Leave a Reply