म्याग्दीको ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएपछि म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिति अन्तरगको महिला विभागले जिल्लाका थप तीन स्थानीय तहमा स्तन तथा पाठेघर सम्बन्धि शिविर सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणमा रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सम्पन्न गरेको मोनाले दोस्रो चरणमा आगामी बैशाख ८ गतेदेखि १३ गतेसम्म शिविर सञ्चालन गर्ने भएको हो ।

मोनाले बैशाख ८ र ९ गते धवलागिरी गाउँपालिकाको मुना, बैशाख १० र ११ गते मालिका गाउँपालिकाको दरबाङ र बैशाख १२ र १३ गते मंगला गाउँपालिकाको बावियाचौरमा शिविर सञ्चालन गर्ने मोना अन्तराष्ट्रियका अध्यक्ष अम्मर छन्त्यालले जानकारी दिए ।

‘शिविरले महिलाको प्रमुख स्वास्थ्य समस्या समाधानम सघाएको छ,‘शिविरको प्रचारप्रसारमा बस्तीबस्तीमा पुग्न जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छौ’अध्यक्ष छन्त्यालले भने ।

काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा हुने शिविरमा पाठेघर र स्तनमा समस्या भएकालाई थप उपचारका लागि रिफर गरिने छ । यसअगाडी रघुगंगामा ३ र अन्नपूर्णमा ४ गरी ७ जनामा स्तनमा गाँठागुठी भेटिएको थियो ।

उक्त शिविरमा तृप्ति फाउण्डेशन अष्ट्रेलियाको आर्थिक सहयोग गरेको थियो। पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समयसमयमा चेकजाँच गरी उपचार गर्नुपर्ने चिकित्सको सुझाव रहेको छ।

पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले यो शिविर म्याग्दीका ५ वटै गाउँपालिका र बेनी नगरपालिकामा आयोजना गरिएको मोनाले जनाएको छ ।

Leave a Reply