क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्‍याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्‍याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा परेका छन् ।

काठमाडौं मनमैजुका डम्बरबहादुर विकले आफूहरूलाई क्रोएसिया पठाइदिने भन्दै विद्यार्थी भिसामा युक्रेन पुर्‍याएको पीडित युवाहरूले अनलाइनमार्फत बताए । विक मनमैजु थ्री स्टार होटेलका सञ्चालक हुन् । विकलाई १० लाख र करिब पाँच लाख भारतीय तथा स्थानीय एजेन्टलाई भुक्तानी गरेको पीडितहरूको भनाइ छ ।

क्रोएसिया लैजाने भन्दै उनीहरूलाई प्रतिनिधिसभा निर्वाचनको भोलिपल्ट काठमाडौंबाट हिँडाइएको थियो । काठमाडौंबाट सडकमार्ग हुँदै मुम्बई पुर्‍याइएका उनीहरूलाई १० दिन त्यहाँ राखेर १६ डिसेम्बरमा माल्दोभा युक्रेनको छिमेकी मुलुक उडाइयो । माल्दोभाको ट्रान्जिट भिसा पाएको र त्यहाँ झरेपछि ट्याक्सी चढेर दुई घन्टामा युक्रेन पुगेको पीडितहरूले बताए । उनीहरूका अनुसार विकले युद्धको समस्या देखाएर युक्रेनबाट कोएसिया प्रवेश गराउने आश्वासन दिएर पठाएका थिए ।

अवैध प्रवेश भन्दै २३ जनवरीमा स्थानीय आर्मीले उनीहरूलाई पक्राउ गर्‍यो । विद्यार्थी भिसाको सबै कागजपत्र हुँदाहुँदै पनि आर्मीले पक्राउ गरेर ‘युरोप फरार भएको’ केसमा कारबाही गरेको उनीहरूले बताए । आर्मीले उनीहरूको रेसिडेन्ट पर्मिटसमेत खारेज गरिदिएको छ । त्यति मात्र होइन युक्रेनको अदालतले ३० दिनभित्र मुलुक छाड्न आदेश दिएकोमा अल्टिमेटमको समय सकिइसकेको छ । अब प्रहरीले पक्राउ गरे जेल जानुपर्ने त्रास रहेको युवाहरूले बताए ।

‘अदालतले युक्रेन छाड्न दिएको ३० दिनको समय पनि घर्किसक्यो । नछाडे जेल हाल्ने चेतावनी पनि दिएको थियो । तर, यो देश छाड्न अन्तर्राष्ट्रिय उडान पनि रद्द छ, सीमा जोडिएका अन्य मुलुकले प्रवेशाज्ञा पनि दिँदैनन्,’ अलपत्र एक युवाले भने, ‘कुनै पनि दिन प्रहरीले समात्ने र जेल हाल्ने जोखिम उच्च छ । हाम्रो उद्धार गरियोस् ।’ माल्दोभाले १९ जनवरीदेखि युक्रेनमा रहेका कुनै पनि साउथ एसियन मुलुकका नागरिकलाई प्रवेशाज्ञा दिएको छैन । हाल उनीहरू युक्रेनको पनि जोखिमपूर्ण सहर किभमा छन् । त्यहाँ कुनै पनि समयमा रुसले आक्रमण गर्ने त्रास छ ।नयाँ पत्रिका दैनिकबाट साभार

Leave a Reply