पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)लाई जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा भब्य स्वागत गरिएको छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड सहित अन्य विभिन्न किर्तिमानीपछि पहिलोपटक जन्मभूमी दानमा आएका पूर्जालाई स्थानीयबासीले पञ्चेबाजा सहित भब्य स्वागत गरेको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

 

‘दानाबासीले भब्य स्वागत गरेका छन्,‘दानामा जन्मिएर विश्वमै चर्चित हुनुभएकोमा सबैले भेटेर बधाई दिए’शेरचनले भने ।हेलिकप्टरमा कतारी राजपरिवारका सदस्य सहित दाना पुगेका पूर्जाले आफ्नो गाउँका लागि सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । ‘मेरो परिवारको यो गाउँमा ठूलो योगदान छ,मैले यही गाउँबाट संसारको यात्रा गर्ने अवसर पाए, समुदायको साझा योजना बनाउनुहोस् मैले तपाईले रोजेको योजना सफल बनाउन सहयोग गर्छु’ निर्मल पूर्जाले भने ।

निर्मलको सम्मानमा उर्लिएको समुदायलाई उनले दानाको शिक्षा, स्वास्थ्य सहित समुदायको आवश्यकतामा आधारित योजनामा सहयोगका लागि विवरण दिन समेत अनुरोध गरेका थिए ।

वडा अध्यक्ष रमेश पूर्जा, स्थानीय अगुवा बेलबहादुर पूर्जा, ज्ञानप्रकाश माविका प्रअ शान्त नेपाली, प्लस टु संयोजक बाबुराम पौडेल, आमा समुह, यूवा क्लव लगायत स्थानीय संघसंस्थाले निर्मल सहितको टोलीलाई सम्मान गरेका थिए । ‘किर्तीमानी पूर्जाको बाल्यकाल दानामै बितेको थियो, दानामा जन्मिएको यूवा अहिले विश्वभर लोकप्रिय हुनुहुन्छ’ वडा अध्यक्ष पूर्जाले भने । उनले आफ्नो जन्मभूमिमा सहयोग गर्ने प्रतिबद्धताबाट उत्साहित भएको बताए ।

किर्तीमानी पूर्जा सोमबार दानामै बसेर आफ्नो सफलता सहित विभिन्न बृत्तचित्र देखाएर छिमेकी नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालतर्फ जाने कार्यक्रम रहेको छ । पूर्जाले विश्वका अग्ला हिमाल आरोहणको सुरुवात समेत अन्नपूर्ण हिमालबाट सुरु गरी दोस्रो आरोहण म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) मा गरेका थिए ।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए । पूर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।

पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने किर्तीमानी समेत कायम गरेका छन् ।

सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए।

क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन ।

अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् । गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए ।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । पूर्जालाई गतबर्ष राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा किर्तिमय राष्ट्रदिप पदकबाट विभुषितको घोषणा समेत गरेकी थिईन् । पूर्जाले नेपाल सहित विश्वका विभिन्न देशबाट समेत चर्चित सम्मान प्राप्त गरिसकेका छन् ।

Leave a Reply