म्याग्दीको प्रमुख प्रशासनीक क्षेत्र रहेको सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा रहेको अब्यवस्थित टहरा र फलफुल राख्ने ठेला ब्यवसायी आफैले हटाएका छन् । बेनी नगरपालिकाको नगर प्रहरीको सक्रियतामा सडक छेउछाउमा बनाएको अब्यवस्थित संरचना हटाइएको हो । बेनी नगरपालिकाले ३५ दिनमा संरचना हटाउन मंसिर १५ गते सार्वजनिक सूचना जारी गरेको थियो। पटकपटकको ताकेता तथा नगरप्रहरीको समेत सक्रियतामा टहरा हटाइएको जनाइएको छ ।

अस्थायी संरचना हटाउन नगरपालिकालाई ब्यवसायीले समेत सहयोग गरेकाले सहज भएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । उक्त क्षेत्रमा सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत बिरेन्द्रचोक देखि नगरपालिका कार्यालय अगाडीसम्म पराकिलो बनाउने, ढलान, नाली निर्माण लगायतको योजनासहित भगवती मालिका कन्ट्रक्सन प्रालीले ७५ लाखमा ठेक्का लिएर काम समेत सुरु गरेको छ ।

अस्थायी संरचनासँगै जिल्ला समन्वय समितिको पर्खाको केही भाग समेत भत्काइएको छ । विरेन्द्रचोकमा फराकिलो सडक, सार्वजनिक स्थलमा पार्क, नगरले ब्यवस्थित पुर्वाधार निर्माण गर्ने योजनासहित अब्यवस्थित टहरा हटाएर पुर्वाधार निर्माण कार्य अघि बढेको बेनपा ७ का वडा अध्यक्ष एवम् प्रवक्ता रमेश श्रेष्ठले बताउनुभयो ।

विरेन्द्रचोकमा सडक फराकिलो भएपछि सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई पार्किङ, विभिन्न कार्यक्रम गर्नका लागि सहज हुने छ । टहरामा बस्ने मुस्लिम समुदायलाई कुनै बैकल्पिक योजना बनाएर ब्यवसायलाई निरन्तरता दिने वडा अध्यक्ष श्रेष्ठको भनाई छ। टहरा हटाइएको देखि माथिल्लो क्षेत्रमा डिभिजन बन कार्यालयले प्रयोग गरेको जग्गा समेत सार्वजनिक भएकाले त्यहाँ पार्क निर्माण सहितको थप संरचना समेत बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ ।

बेनी नगरपालिकाले कालीपुलको बसपार्कमा रहेका अव्यवस्थित संरचना पुष १५ गते डोजर लगाएर हटाएको थियो। कालिपुलमा ब्यक्तिगत तथा सार्वजनिक सूचनाको माध्यमबाट हटाउन गरिएको अनुरोधलाई विभिन्न बाहनामा अटेर गरेपछि मेयर केसीको नेतृत्वमा डोजर लिएर ठाउँ खाली गरिएको थियो ।

यता वडा नं २ र ७ मा पर्ने नगरकार्यपालिका अगाडी रहेको मोटेरेबल पुल आसपासमा निर्मित संरचना हटाउन पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरिएको छैन् । बजारभित्र नगरपालिकालाई सस्तो भाडा दिएर चर्को भाडा असुल्ने, सार्वजनिक जग्गामा निर्मित संरचना सुटुक्क बिक्री गर्ने तथा अनुमति विनै मनपरी संरचना थप गर्ने गरिएकोमा यसपटक नगरपालिका आक्रमक देखिएको छ ।

Leave a Reply