सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ म्याग्दी दोभान र बेनी महारानीको संयुक्त आयोजनामा एकहप्ते स्त्री तथा प्रजनन सम्बन्धि योग शिबिर सम्पन्न भएको छ ।

सृष्टिको उद्घम बिन्दु अथवा महिलाको अस्तित्वसँग जोडिएको पाठेघरमा आउने समस्या समाधान, समस्याको पहिचान र दैनिक योगसाधनबाट हुने फाइदामा केन्द्रित भएर योग शिविर सञ्चालन गरिएको लायन्स क्लव म्याग्दी दोभानकी अध्यक्ष कमला जिसीले बताउनुभयो ।

पाठेघरमा के कस्ता समस्याहरु आउँछन् ? यसका कारण र पाठेघर स्वस्थ्य राख्न के कुरामा ध्यान दिने, हेरचाहमा विशेष ध्यान नदिदा महिलाले जीवनभर पीडा भोग्नु पर्ने अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको अध्यक्ष जिसीले बताउनुभयो । शिविरमा पाठेघरमा हुने समस्यालाई योगसाधान तथा अन्य घरेलु विधिबाट जोखिम न्यूनिकरण तथा समस्या आएमा पहिचान गरी उपचारमा समेत हेल्चेक्राई गर्न नहुनेमा जोड दिइएको थियो ।

शिविरको अध्यक्षता लायन्स क्लव बेनी महारानीकी अध्यक्ष भिमकुमारी शर्मा, प्रमुख आतिथ्यता डिस्ट्रीक चिफ सुनिता केसी, अतिथिमा जोन चियरपर्सन संगीता श्रेष्ठ, डिस्ट्रीक अफिसर रन्जिता भट्टचनको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केसीले महिलाहरुले पाठेघर र प्रजनन सम्बन्धि समस्याले ज्यान नै जाने सम्भावनालाई मध्यनजर गदैं यस्ता समस्याहरु लुकाउन नहुने भन्दै परिवार र समाजमा खुलेर भन्न सक्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । शिविरको सञ्चालन लायन्स क्लव बेनी महारानीकी उपाध्यक्ष चन्द्र घले गुरुङ, झण्डा अभिवादन म्याग्दी दोभानकी सहकोषाध्यक्ष पुष्पा थापाले गर्नुभएको थियो भने प्रशिक्षक म्याग्दी दोभानकी उपाध्यक्ष एवम् योग प्रशिक्षक पवित्रा बोगटी केसीले गर्नुभएको थियो ।

प्रशिक्षक बोगटीलाई प्रशिक्षण सहितको कार्यमा साथ दिनुभएकोमा प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित योगसाधना गर्नुपर्छ । म्याग्दीको ग्रामिण क्षेत्रमा अझैपनि महिलाहरु प्रजनन् र यौन सम्बन्धिका समस्याहरु लुकाउने गरेकाले अन्तिम समयमा रोग पहिचान भएपनि उपचारमा समस्या हुने गरेको छ ।

 

 

 

Leave a Reply