जिल्ला प्रहरी कार्यालय तनहुँले ठूलो मात्रामा लागुऔषधसहित म्याग्दीका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वडा नं. १० पात्लेखेतका २२ वर्षीय रविन किसन रहेका छन् ।

मंगलबार दिउसो भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको ना५ख ४९६७ नम्बरको यात्रुवाहक बसलाई अस्थायी प्रहरी पोस्ट मुग्लिङ्ग पुलजिपको टोलीले आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनीटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा चेकजाँच गर्नेक्रममा किसन पक्राउ परेका हुन् ।

किसनको साथबाट ६८ एम्पुल डाइजेपाम २ एमएल,६९ एम्पुल फेनार्गन २ एमएल र ६९ एम्पुल नुफिन २ एमएल गरि कुल २०६ एम्पुल नियन्त्रित लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

उनले कालो र नीलो रङ्गको झोलामा उक्त परिमाणको लागूऔषध लुकाइछिपाई ल्याएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका किसनलाई तनहुँ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply