म्याग्दी जिल्लाका पहिलोपटक बेनी नगरपालिकाले नगर प्रहरी छनौट गरेको छ । नगरभित्र अति आवश्यक मानिएको जनशक्ती मानिएको नगर प्रहरी छनौट गरी दज्र्यानी चिन्ह प्रदान गरिएको हो । बेनी नगरकार्यपालिकामा बिहीबार बिहान आयोजित कार्यक्रममा नगर प्रमुख सुरत केसी र प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले एक हवल्दार र दुई सिपाईलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ।

नगर प्रहरीका हवल्दारमा शंकर पौडेल र सिपाई रेजिना विक र बेनपा–६ का अभिषेक मिजारलाई पेशागत, सैद्धान्तिक र व्यवहारिक लगायत आधारभूत सेवाका बारेमा जानकारी गराएसँगै काम कर्तब्य र अधिकार क्षेत्रमा तोकेको जिम्मेबारी दिइएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । ‘नगरका महत्वपूर्ण अभियानमा खटिनुहुन्छ, हामीले नमुना नगर बनाउने अभियानमा सहज हुनेछ’प्रमुख केसीले भन्नुभयो । नगर प्रहरीलाई ३४ प्रकारका काम गर्ने अधिकार दिएको नगर प्रमुख केसीले बताउनुभयो ।

Adv

नगर प्रहरी ऐनमा उल्लेख भए अनुसार न्यायिक समितिको काम कारबाहीमा सघाउने, सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण, खतराको मूल्यांकनका आधारहरू, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, बजार व्यवस्थापन, अग्नि नियन्त्रण र सरसफाइ तथा फोहोर नियन्त्रण प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापनमा विषेश ध्यान दिनुपर्ने छ । बजार कर संकलन, छाडा चौपाया व्यवस्थापन लगायतका काम गर्नुपर्ने छ । हवल्दारमा तीन र जवानमा १० जनाको आवेदन परेकोमा संकलन, लिखित परिक्षा, अन्तरवार्ता र शारिरिक तन्दुरुस्ती परिक्षण गरेर नगर प्रहरी भर्ना गरिएको थियो ।

नगर प्रहरीले कार्यविधिअनुसार पारिश्रमिक र अन्य सुविधा पाउनेछन् । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई आफ्नै प्रहरी भर्ना गर्ने अधिकार दिएको छ । दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, नगर उपप्रमुख ज्योती लामिछाने, वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति थियो।

नगरप्रहरीले दज्र्यानी चिन्ह पाउनु अगाडी नै गएराती बेनपा–४ राक्सेमा आगलागी भएको घरमा दमकल सहित समयमै पुगेर उद्धार सहितका कार्यमा समेत खटिएको थियो । नगर प्रहरीको कार्यलाई प्रभावकारी बनाउन समय समयमा पेशागत, सैद्धान्तिक तथा व्यावहारिक आधारभूत तालिम सञ्चालन समेत गरिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply