म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी ८० बर्षिया गौमती पाईजाको शरीर कमजोर भएपछि विगत एक सातादेखि कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्ड स्नान गरिरहेकी छिन्।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारस्थित कुण्डमा पर्वतका रनबहादुर तिलिजाले कुण्डमा स्नान गरेपछि रोग निको हुने थाहा पाएपछि कुण्डमा पुगे। कुण्डमा स्नान गर्न गएका बिरामी पलाष्ट्रिकमा बेरिएर भुईमा लस्करै पसिना निकालिरहेका छन्।
पछिल्लो समय कुण्ड ब्यवस्थित भएपछि स्नान गर्न आउने विरामीको संख्या ह्वात्तै बढेको कुण्ड व्यवस्थापक कुमार तिलिजाले बताए।
![](https://staticimg.nagariknetwork.com/uploads/authors/1675254123_Tatopani%20kunda%20%20(2).jpg)
‘दैनिक डेढ सय बिरामी आउँछन्,‘विदेशबाट विदमा आएकाले समेत लामो समय स्नान गरेर फर्किने गरेका छन्’ तिलिजाले भने।
उनका अनुसार म्याग्दीका विभिन्न स्थानका साथै छिमेकी बागलुङ, पर्वत, पोखरा लगायत विभिन्न जिल्लाबाट आउने सबै बिरामीलाई कुण्ड आसपासका क्षेत्रमा बस्न समस्या भएपछि भुरुङ तातोपानीमा रहेका होटलमा बस्ने गरेका छन्।कुण्ड सञ्चालकले गाउँपालिकालाई एक वर्षको १२ लाख बुझाउने गरी कुण्ड व्यवस्थापकको जिम्मा लिएको बताए।
बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने भएकाले पछिल्लो समय मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटकले समेत स्नान गर्न थालेको उनले बताए। कुण्डमा दिनभर डुबेको ५० रुपैयाँ तोकिएका छ। तीनवटा पोखरीमा बिरामीलाई सहज नुहाउन मिल्ने अन्नपूर्ण गाउँपालिका ३ का पूर्व वडाध्यक्ष नरसिंह पूर्जाले बताए।
![](https://staticimg.nagariknetwork.com/uploads/authors/1675254169_Tatopani%20kunda%20%20(1).jpg)
‘ढाडको समस्या थियो डुबेपछि निको भएको महसुस गरेको छु,‘धेरै बिरामी उपचारपछि खुसी हुदै फर्किएका छन्’ पूर्जाले भने।
कुण्डमा नुहाउने धारा, पुरुष र महिला स्नान गृह र शैचालय समेत रहेको छ। कुण्ड नजिकै पाखाभरी सेताम्मे नुन रहेको र जिल्लाका अन्य कुण्डको तुलनामा स्वाद समेत फरक रहेकाले उच्च रक्तचापका बिरामीले समेत स्नान गरेको पर्वत सालिजाका हर्कबहादुर पुनले बताए।
‘प्रेसरको बिरामी भएपनि यहाँ स्नान गर्दा मलाई केही असर गरे,‘तौल पनि घट्यो, अर्कोपटक फेरी आउँछु’ उनले भने।
ठूला तथा महंगो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर बर्षेनी १० हजारभन्दा बढी बिरामी स्नानका लागि आउने गरेका छन्। मुहानबाटै ५५ देखि ६७ डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ।
विगतमा विभिन्न निकायबाट नुनको मात्रा प्रसस्तै रहेको स्थानबाट निस्किने तातोपानीको गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नानगर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने समेत बताइएको छ। कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ।
जिल्लामा बेनी नगरपालिका वडा नं ४ सिंगामा अवस्थित प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको तातोपानी कुण्डमा बार्षिक ३० हजारभन्दा बढी बिरामीले स्नान गर्ने गरेका छन् भने धवलागिरी गाउँपालिकाको गुर्जा र मुदीमा रहेका २ वटा तातोपानी कुण्ड, रघुगंगा गाउँपालिकाको दर्मिजामा रहेको तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिकाकै भुरुङ तातोपानीमा पर्यटक र रातोपानीमा रहेको कुण्डमा समेत बिरामीले स्नान गर्ने गरेका छन्।