मंगला गाउँपालिकाको आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मंगला–२ रनवाङमा शुक्रबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन गदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले विद्यालयस्तरमा रहेका खेल प्रतिभाको पहिचानका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने बताउनुभयो ।

उहाँले विद्यालयस्तरमा रहेका खेल प्रतिभाको पहिचानसँगै थप खेलकुद गतिविधिलाई अगाडी बढाउन समेत प्रोत्साहनको आवश्यकता रहेको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पालिकाभित्रका खेल प्रतिभाको पहिचानदेखि अवसरका लागि सधै तयार रहेको बताउनुभयो।  उहाँले विद्यालयस्तरमा हुने प्रतियोगितासँगै जिल्ला, प्रदेश र राष्ट्रियस्तरसम्म पुगेका खेलाडीलाई सम्मान सहित विभिन्न कार्यक्रमहरु गरिएको समेत बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, विद्यालयका प्रधानध्यापकको तर्फबाट मंगला माविका प्रअ गमबहादुर खत्री, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्रीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीमा खेलकुद गतिविधिमा रुची बढेको बताउनुभयो । प्रतियोगितामा ९ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको १५ वटा इभेन्ट्मा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिजयी हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद ५० हजार, दोस्रो र तेस्रोले क्रमश नगद ३० हजार र २० हजारको साथमा ट्रफी र मेडल पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका शिक्षा संयोजक डेकबहादुर बानियाँले बताउनुभयो ।

प्रतियोगिता अन्तरगत एथलेटिक्सका खेल रनवाङमा हुने छ भने कबड्ी र भलिबल खेल मंगला माविमा हुने जनाइएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ ।

Leave a Reply