माघ महिनाको पारिलो घाम। आँगनको बीचमा ओछ्याइएको ऊनी गलैँचामा बसेर तानमा हापदुला बुनिरहेकी छिन्, देउमाया छन्त्याल। म्याग्दीको रघुगंगा गाउँपालिका ६ ठाडाखानीकी ७३ वर्षीया छन्त्याललाई हिजोआज तानमा बस्न उति जाँगर लाग्दैन।
करिब दुई दशक अघिसम्म गाउँका घरैपिच्छे हाते तान टाँगेर फुर्सदको समयमा ऊनको धागोबाट काम्लो, घुम र हापदुला बुन्ने चलन अहिले हराएको छ। गाउँका प्रायः सबैले हाते तान र चर्खा गोठ र सिकुवामा थन्काएका छन्। कहिलेकाहीँ देउमायाजस्तै ठाडाखानी गाउँका बुद्धिसरा हिमाली र टीका छन्त्यालले चर्खा चलाउने र तानबाट ऊनका कपडा बुन्ने गरेका छन्।
दुई दशक पहिले चर्खाबाट ऊनको धागो निकाली घरेलु तानमा बुन्ने हापदुला, काम्लो, बख्खु, घुमलगायत ऊनका न्याना कपडा हिजोआज गाउँमै समेत देख्न मुस्किल हुन थालेको छ।
उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यवसायिकरुपमा भेडा पालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन हराएपछि रैथाने सीपमा आधारित यस्ता न्याना कपडा लोप हुँदै गएका हुन्।
गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्नसक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासी बताउँछन्।
भेडापालनबाट गाउँलेले राम्रो आम्दानी गर्दै आएपनि भेडा मासुको रूपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानको ध्यान जान सकेको छैन।
भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने रघुगंगा गाउँपालिका ६ मा वडाअध्यक्ष मनप्रसाद शेरपुंजाले बताए। भेडाको रौँबाट बनेका ऊनका कपडाको माग देश–विदेशमा समेतरहे पनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्ति अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालकको भनाइ छ। ऊनबाट बन्ने कपडा (हापदुला, काम्लो, बख्खु, घुम) को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको छ।
गाउँघरका बूढापाकाले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवा परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउन जाने भएकाले गाउँघरमा चर्खा चल्न छोडेको मालिका गाउँपालिका ५ देवीस्थानका टेकबहादुर बूढाले बताए।
धवलागिरि गाउँपालिका ५ की तेजमायाँ विक उमेरले ७१ वर्षकी हुनुभयो। जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौंबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उनले अहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन पनि छोडिन्। उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ।
तेजमायाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आएकी हुन्। उनले रौँबाट कपडा बुन्न हजुरआमासँग सिकेको बताइन्। तर, अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनी बताउँछिन् । ‘मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखेँ, त्यसपछि मैले पनि बुन्न थालेँ। तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ,’ विकले भनिन् ‘अहिलेका पुस्ताले यस्ता कामहरू गर्नै जान्दैनन्, चासो नै दिँदैनन्। हाम्रो सेखपछि यी सबै कुरा हराएर जान्छन्।’
अहिलेका पुस्ताले परम्परागत सीप नसिकेको प्रति विक चिन्तित छिन्। ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम पाँच हजारदेखि ४०/५० हजारसम्म पर्ने गरेको स्थानीय बूढापाकाको भनाइ छ। न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग रहेको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए।
उनले पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएको स्वीकार गरे नयाँ–नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ।
‘पहिले पहिले दुःख पाउने (गरिब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिन मान्छेले मात्रै खोज्ने र लगाउने गरेको पाइन्छ’, मालिका गाउँपालिका ७ बिमका कर्मबहादुर जुग्जालीले भने, ‘यस्ता कपडा वातावरणीय दृष्टिकोणले पनि फाइदाजनक हुने भएकाले बुझेका र किन्न सक्ने मानिसले खोजी गर्छन्।’