१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला आज शनिबार समापन गरिने भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीबजारको खुलामञ्चमा गएको पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा विभिन्न प्रतियोगितात्मक खेलसँगै मनोरञ्जनका कार्यक्रम सहित उत्साहजनक आर्थिक कारोबार गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ‘महोत्सवलाई सफलतापूर्वक सम्पन्न गदैछौ,‘यसपटक लक्ष्यअनुसारको आर्थिक कारोबार र दर्शकको उपस्थिती देखियो’ अध्यक्ष कटुवालले भन्नुभयो ।

महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेषभूषाको जगेर्नामा समेत सघाएको अध्यक्ष कटुवालको भनाई छ । महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुभएको थियो भने समापन गण्डकी प्रदेशका नवनियु्क्त मुख्यमन्त्री खगराज अधिकारीले गर्ने तय भएको महासचिव अमित बानियाँले बताउनुभयो ।

महोत्सवमा कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु लगायत रमाइलो मेलामा डेढ लाख आन्तरिक पर्यटकको आगमन भएको र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ । म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको थियो ।

Leave a Reply