म्याग्दी बेनी नगरपालिका-८ का शंखर क्षेत्री वैदेशिक रोजगारीमा क्रोसिया जाँदा राम्रो तलब पाइने सपना बुन्दै गर्दा अक्टोवरमा नारायण म्यानपावर नेपाल भन्ने व्यक्तिगत संस्थाबाट जालमा फसे। क्षेत्रीसँगै अन्य २९ जना सोही कम्पनी मार्फत क्रोसिया उड्ने सपनाले लाखौं लाख रूपैयाँ सो म्यानपावरलाई बुझाएका थिए।

झापाको हबरा-६ का विकास राउत सो म्यानपावरका सञ्चालक हुन्। राउतले २९ जनालाई क्रोसिया पठाउने भ्रम फैलाउँदै नेपाली युवा वर्गलाई ६ महिनाको अन्तरालमा थोरैमा २५ हजारदेखि धेरैमा ६ लाख रूपैयाँसम्म लिएका ठगीका उजुरी वैदेशिक रोजगार विभागमा परेको छ।

‘राम्रो तलबको आशामा क्रोसिया जाने रहरले घरबार डुबायो। परिवारका सदस्यपनि धेरै खुसी थिए। अब सुखका दिन आउँदै छ भन्ने आस परिवारलाई थियो। तर ती सुखका दिन आउने केवल सपना मात्र रहे,’ क्षेत्रीले भने, ‘राम्रो तलबको आसमा क्रोसिया गई दुख गरेर पैसा कमाउने ठुलो रहर थियो। ती रहर त्यहाँ नपुग्दै छताछुल्ल भयो।’

म्यानपावर सञ्चालक राउतले क्रोसिया पठाउँछु भन्दै ललाइफकाइमा लागेर ४ लाख डुबाएको क्षेत्रीको भनाइ छ। उनले भने, ‘घरपरिवारमा ठुला र टाठाबाठा भनेको हामी नै हो। तै पनि कहाँ आएर फसियो? परिवारमा यहीँ पैसा फसेको कारणले गर्दा सधैं कलह भएको छ। यसले गर्दा घरवारविहीन भइन्छ कि भन्ने डर छ।’

वैदेशिक रोजगारीका लागि क्रोसिया जाने तरखरमा ७२ हजार म्यानपारका सञ्चालक राउतलाई बुझाएको बस्ताकोटीको उजुरी पनि विभागमा परेको छ। बास्ताकोटी कथा पनि क्षेत्रीको जस्तै छ। उनले भने, ‘खानामा कञ्चुस्याँइ गर्दा गर्दै परिवारको आत्मा मारेर जम्मा गरेको पैसा र केही रकम ऋण गरेर विदेश जाने सपनाले सबै पैसा चकनाचुर भयो। दिन प्रतिदिनको चिन्ताले कहिलेकाहीँ काहाली लाग्छ। घर समस्या टार्न अरू आम्दानी केही पनि छैनन्। यो विदेश जाने चक्करमा आफू पनि फसियो र पैसा पनि फसाइयो। अब कसरी त्यो पैसा फिर्ता ल्याउन सकिन्छ थाहा छैन।’

उनले थपे, ‘क्रोसिया पठाउँछु भनेका राउत आफू चाहिँ क्यानडामा बसेर भारतीय नम्बर चलाइरहेको छ। प्रहरी प्रशासनले राउतलाई समात्ने हो भने सजिलै समात्न सक्छन्। हामी जस्तो दुःखी गरिब मारेर त्यो राउत चाहिँ क्यानडामा छ।’

विभागका अधिकृतले काम हुन्छ तर ढिलाइ हुन्छ भन्छन्। हामी यो काठमाडौं सहरमा कति दिन बस्ने हो? न त खानेको ठेगान छ न बस्ने कहीँ बास छ। दुःखमा परेका जनतालाई झन् दुःख नै दिने मानसिकता भएका विभिन्न प्रशासनहरू छन्।’

फेसबुकमार्फत नारायण म्यानपार नेपाल भन्ने फेक अकाउन्ट खोलेर क्रोसिया पठाउछु भन्दै म्यानपावर सञ्चालक राउतले दुनियाँलाई ठगी गरिएको उजुरी वैदेशिक रोजगार विभागमा परेको उक्त विभाग शाखा अधिकृत सुशिल पकुवालले जानकारी दिए। क्रोसिया पठाउँछु भन्दै ठगी गर्ने व्यक्ति एउटै राउत हो तर यहाँ विभिन्न तरिकाबाट फसाइएको पकुवालको दाबी छ।

Leave a Reply