कास्की । पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ ।

झण्डै पाँच दशकको निरन्तरको प्रयाससगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् ।

विमानस्थल सञ्चालनका विभिन्न पूर्वाधारको अभावकै बीच विमानस्थल सञ्चालनमा आएपनि यसले पोखरेलीलाई कति उत्साहित बनाएको थियो भन्ने कुरालाई आइतबार उर्लेको पोखरेलीको जनसागरले प्रष्ट सङ्केत गर्दथ्यो ।

हजारौँ पोखरेलीको सहभागितामा भव्यताका साथ उद्घाटन भएको विमानस्थल सञ्चालनमा आएसँगै यसले आगामी दिनमा यसले गण्डकी प्रदेशसँगै समग्र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने विषय गम्भीरताका साथ उठेको छ ।

हालसम्मको अवस्थाले गण्डकी प्रदेश उद्योग व्यवसायका क्षेत्रमा पछि नै रहेको छ । नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा हालसम्म आन्तरिक उडानका लागि सानो क्षमताको घरेलु विमानस्थल रहीआएकोमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसँगै त्यसले अन्य सम्भावनालाई उजागर गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउनुहुन्छ ।

हाल पोखराबाट लगभग आधा घण्टाको दूरीमा मात्र उडान भइरहेका अवस्थामा अब भने यहाँबाट सिधैँ छ घण्टासम्मको दूरीमा यात्रा गर्न सकिने भएको छ ।

उद्घाटन समारोहमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो विमानस्थलबाट पाँच÷छ घण्टाको दूरीको यात्रा गर्न सकिने भनिरहँदा पोखरेलीले लगातार ताली वर्षाएर खुसी व्यक्त गरेका थिए ।

यो सँगै पोखराबाट विभिन्न छिमेकी राष्ट्रमा उडान गर्न सकिने बाटो खुलेको छ । यसका लागि हवाई मार्ग तय गर्ने सम्बन्धमा राज्यले कूटनीतिक छलफल तत्काल बढाउनु अपहिार्य देखिएको छ ।

विमानस्थलसँग जोडिएको मुख्य पूर्वाधार सडकलाई तत्काल व्यवस्थित गर्नु अपरिहार्य देखिएको अध्यक्ष आत्रेयको भनाइ छ ।

“विमानस्थल सुरु भएसँगै आइतबार पोखराबाट लेखनाथसम्म आइपुग्न झण्डै तीन÷चार घण्टा लागेको छ”, उहाँले भन्नुभयो, “विमानस्थलसम्म सहजरुपमा आवतजावत गर्नका लागि ट्राफिक व्यवस्थापनलाई तत्काल गम्भीरताका साथ लिनुपर्ने भएको छ ।”

विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकलाई बस्ने किसिमका पूर्वाधारको विस्तार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । विमानस्थललाई सहीरुपमा उपयोगको वातावरण निर्माणतर्फ राज्यले ध्यान दिनुपर्ने बताउँदै उहाँले यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्रमा विशिष्ट योगदान पुग्ने उल्लेख गर्नुभयो ।

“आगामी दिनमा पोखरासहित समग्र गण्डकी प्रदेशमा उत्पादनलाई पनि जोड दिनु आवश्यक छ”, उहाँले भन्नुभयो, “यहाँका उत्पादनलाई बाहिर पठाउने अवस्था भयो भने त्यसले प्रत्येक स्थानीयको आम्दानी बढाउने र समग्र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।”

पोखरामा विद्यमान पर्यटकीय पूर्वाधारलाई पनि व्यवस्थितरुपमा उपयोग गर्नुपर्ने सरोकारवाला बताउँछन् । पोखरामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

– रासस

Leave a Reply