म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बेनी नगरकार्यपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको हो ।
प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकका लागि प्रतिस्पर्धा हुने र एक वटा खेल सञ्चालनका लागि कम्तिमा पाँच वटा विद्यालय सहभागि हुनुपर्ने नियम बनाइएको नगर प्रमुख सुरत केसीले बताए ।

‘नगरभित्रका ग्रामिण क्षेत्रका विद्यालयले समेत सहजै प्रतिस्पर्धा हुने वातावरण बनाएका छौ,‘खेलकुदलाई शिक्षासँग जोडेर पढाई र परिक्षा प्रभावित नहुने गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको छ’ नगर प्रमुख केसीले भने । उनका अनुसार जनप्रनिधिहरुको संयोजकत्वमा कर्मचारी र सम्बन्धित खेलकुद संघका पदाधीकारीको सहभागितामा छुट्टा छुट्टै समिति बनाएर प्रतियोगिताको तयारी गरिएको छ । कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, रमेशकुमार श्रेष्ठ, उत्तम कर्माचार्य र चक्र केसीको संयोजकत्वमा खेल सञ्चालन उपसमिति बनाइएको छ ।

नगरपालिकामा रहेका १५ वटा सामुदायिक, १० वटा निजी मावि, म्याग्दी बहुमुखी क्याम्पस र बालमन्दिर आधारभूत विद्यालय सहभागि हुने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालन र जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनका लागि नगरपालिकाले गौरवको कार्यक्रमको रुपमा १२ लाख बजेट बिनियोजन गरेको नगर उपप्रमुख ज्योती लामिछानेले बताईन् ।

यसअघिको प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई पचास हजार, पैतिस हजार र २५ हजार पुरस्कार उपलब्ध गराएको नगरपालिकाले बुधबारको कार्यपालिका बैठकबाट अघिल्लो प्रतियोगिताको भन्दा बढी हुने गरि पुरस्कार रकम तोक्ने जनाएको छ । पदक जित्ने विद्यालयलाई शिल्ड, खेलाडीलाई मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारका साथै सहभागि हुने विद्यालयलाई पनि आर्थिक सहयोग गरिने नगरपालिकाले जनाएको छ । नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

Leave a Reply