राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन्। आइतबार राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।राष्ट्रपति कार्यालयका अनुसार दाहालको शपथ भोलि सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ।‍

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सात दलको बैठकले दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति निवास पुगेको थियो। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दाहालले  प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन्। उनलाई कूल एक सय ६९ सांसदको समर्थन छ।

त्यसमा नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ।

राष्ट्रपति भण्डारीलाई पेश गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेका छन्।

Leave a Reply