* विनय श्रेष्ठ
अन्ततः फुटबलको कुम्भमेला फिफा विश्वकप सकिएको छ । फ्रान्ससंग निर्धारित नब्बे मिनेटमा दुई गोलको बराबरी, थपिएको तीस मिनटमा एक गोलको बराबरी भएपनि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले दुईका विरुद्ध चार गोलको सानदार गोल निकाल्दै अर्जेन्टिनाको मात्र होइन, मेस्सीको मात्र होईन अर्जेन्टिना अनि मेस्सीले बिश्व कप ट्रफी उचालेको हेर्ने चाहने सम्पूर्ण फ्यानहरुको जित भएको छ । विश्वकप ट्रफि बाहेक सबै व्यक्तिगत र सामुहिक उपाधि जितेका मेस्सीले आलोचकहरुको बोल्ति बन्द गरिदिएका छन् ।

अर्जेन्टिना देशको नाम आउने बित्तिकै मुलतः दुईवटा प्रसंगले स्थान पाउँछन् । एकः फोकल्याण्ड युद्ध र अर्को फुटबल ।
पहिले फोकल्याण्ड युद्धको चर्चा गरौं । अर्जेन्टिना र ईण्ल्याण्ड बीच फोकल्याण्डको टापुको लागि युद्ध भएको थियो जसमा अर्जेन्टिनाले पराजय बेहोरेको थियो । अर्जेन्टिनाले पराजयको मुख्य कारण वीर गोर्खालीलाई मान्दछन् । वीर गोर्खालीले बेलायत सैनिकमा भर्ति भै ईङ्ल्याण्डको तर्फबाट वीरता प्रदर्शन गरि अर्जेन्टिना माथि ईल्याङ्ण्डलाई विजयी गराउन साहसिक युद्ध लडेका थिए ।

सन १९८६ को क्वाटरफाइनलमा फुटबलका जादुगर डियगो म्याराडोनाले हाते गोल गर्दै ईङ्ल्याण्डलाई पराजित गरेपछि भनेका थिए कि–“आज हामीले जित्यौं किनकि त्यहाँ वीर गोर्खाली मैदानमा थिएनन् ।“ म्याराडोनाको यस तर्कले युद्धमा गोर्खालीको उपस्थिति कति गौण रहेछ भनेर पुष्टि हुन्छ । साथमा अर्जेन्टिनाले हरेक वर्ष ईङ्ल्याण्डको झण्डाको साथमा नेपालको झण्डा जलाउँदछन् त्यसकारण अर्जेन्टिनाको सपोर्ट गर्नुहुँदैन भन्नेको पक्षमा पनि ठुला जमात रहेको छ । यद्यपि नेपालको झण्डा वर्षेनी जलाउदछन् भन्ने कुराको कसैबाट प्रमाणित पुष्टि भने भएको छैन ।
रहयो अब फुटबल ।

जब नेपालमा श्यामस्वेत टेलिभिजनको प्रवेश भयो त्यसबेला फुटबल जगतमा अर्जेन्टिनाका फुटबल जादुगर डियगो म्याराडोनाले एकछत्र राज गरिरहेका थिए । सन् १९८६ मा जादु देखाउदै उनले विश्वकप ट्रफि उचाले अनि नेपाली खेलप्रेमीको मनमनमा राज गरे । गोलरक्षक गोयाकोचियाले थप सहयोगीको भुमिका खेले । म्याराडोनाका फ्यानले माथिका सबै कुरा बिर्सिएर अर्जेन्टिना – अर्जेन्टिना , म्याराडोना–म्याराडोनाको जप लगाउन थाले । कसैले मेटेर नमेटिने छाप म्याराडोनाले छोड्न सफल भए । त्यसपछि ग्यावियल बेटुस्टिटा, मेस्सी, टेभेज, डिमारिया, एगुरो, डिभाला, मार्टिनेजले निरन्तरता दिदै गए ।

राष्ट्रियता सबैभन्दा माथि हुनुपर्छ । यसमा दुईमत छैन । फोकल्याण्ड युद्धमा नेपालीहरुले बेलायतको लागि वीरता प्रदर्शन गर्नु नुनका सोझो गरेका हुन् भने अर्जेन्टिनाले हारको कारण वीर गोर्खालीलाई मान्नु नेपाली प्रतिको उच्च सम्मान हो । यदि अर्जेन्टिनामा ईङ्ल्याण्डको झण्डाको साथमा नेपालको झण्डा जलाउँदछन् भन्ने कुरा सत्य हो भने त्यो कुनै पनि बाहानमा क्षमायोग्य हुदैन ।

तरपनि खेलकुद र कलाक्षेत्रले कहिलेकाही राष्ट्रियता लाई बिर्साइदिन्छ । एकआपसमा टुक्रिएका र अहिले पनि काश्मिरकालागि युद्धरत भारत र पाकिस्तानका थुप्रै खेलाडी कलाकारहरु आपसी बिबाह बन्धनमा बाधिएका छन् । नेपालीले छिमेकी भारतलाई जति गाली गलौज गरेपनि सचिन देखि सलमानसम्मका खेलाडी कलाकारहरुले मनमुटुमा स्थान बनाएका छन् । मेस्सीले कोपा कपमा चिली विरुद्ध पेनाल्टी मिस गरेर हारको कारण मान्दै सन्यास घोषणा गर्दा अर्जेन्टिनाका राष्ट्रपति मात्र होईन, म्याराडोना मात्र होईन संसारका सबैले खेल जीजनमा फर्कन अनुरोध गरे, प्रार्थना गरे ।

खेलमा इटलीलाई ध्वस्त बनाउने म्याराडोनाले बार्सिलोनाबाट नेपोली गएर इटलियनलाई सबै उपाधि सहित खुशी दिएर मुर्ति नै खडा गराउन बाध्य गराए । सन् १९९८ का फाईनलिष्ट ब्राजिलका रोनाल्डो र फ्रान्स का जिदानेले रियल म्याड्रिडका कालागि संगै खेल्दै सबै प्रकारको उपाधि हासिल गरे । ईङ्ल्याण्डका खेल सुपर स्टार डेविट बेक्याम मेस्सीले ट्रफि उचालेको हेर्न चाहे । ब्राजिलियन सुपरस्टार रोनाल्डिनोले मेस्सीलाई हौसला दिईरहे । कोपा फाईनल हारेका नेमार सबैभन्दा पहिले मेस्सीलाई अंगालो हाल्दै बधाई दिए ।

फ्रान्सलाई विजेता बनाएका हेनरी बेल्जियमको कोच टिममा छन् । सेमिफाइनलमा पराजय भोगेको क्रोयसियाका मोड्रिटलाई सबैभन्दा पहिला अर्जेन्टिनाका डि मारियाले सान्वना दिए । मेस्सीलाई सबैभन्दा बढि ट्याकल गर्ने स्पेनका सर्जियो रामोस रियल मेड्रिडबाट पिएसजि गएपछि बार्सिलोनाबाट पिएसजि मेस्सी आउदा स्वागत गर्दै घर खरिद प्रक्रिया पूरा नहुन्जेल आफ्नै घरमा बस्नलाई निम्ता गरे ।

एक आपसमा कडा प्रतिष्पर्धि बनेर चुनौति बनेका मेस्सी र फ्रान्सका एम्बाब्बे खेल अघि अंगालो मारेर शुभकामना साटासाट गरे भने खेलपछि एकै मञ्चमा उपस्थित भएर गोल्डेन बल र गोल्डेन बुट सहित खुशी साटासाट गरे । माथिका उदाहरणले खेलकुदले मानिसलाई राष्ट्रियता भन्दा माथि उठाएका भान हुन्छ । तर राष्ट्रियता भनेको राष्ट्रियता नै हो । मेस्सीलाई मेस्सी बनाएको स्पेन अनि बार्सिलोनालाई चटक्कै माया मारेर मेस्सी अर्जेन्टिनाका लागि सवथोक जित्न चाहन्छन् । पहिलो पटक अफ्रिकी मुलुकलाई सेमिफाइनलमा पु¥याएका मोरोक्कोका हाकिमीले पनि स्पेनलाई माया मारेमा हुन । जर्मनी लाई बिश्वकप जिताउदा ओजिल हाईहाई भए भने हार्दा प्रवासीको बिल्ला भिडाइदिए ।

यहाँ तर्कवितर्क जति गरेपनि सबैभन्दा पहिले हामी नेपाली हौ । हाम्रो मनमुटुमा नेपाल रहनु पर्दछ । अरु देश र खेलाडीको लागि विभाजित हुनु आवश्यक छैन तर पनि समयले त्यही मार्गमा दोहो¥याउदछ । अर्जेन्टिना, म्याराडोना र मेस्सीको पक्ष र विपक्षमा जति तर्क वितर्क गरेपनि त्यो देश र त्यस देशका खेलाडीहरु नेपालीका मित्र हुन कि शत्रु ? यो अनुत्तरित प्रश्न हो । जेसुकै होस् मेस्सी खेल जीवनको उत्तरार्धमा अर्जेन्टिनालाई विश्वकप ट्रफि चुमाएर आफुलाई महान सावित गर्दै पेले र म्याराडोनासंग उभ्याएका छन् । तर नेपालीका लागि महान मेस्सी मित्र हुन् कि शत्रु ? यसको उत्तर भने खोजिरहने छौं ।
जय राष्ट्रियता ! जय फुटबल ! !

Leave a Reply