पाल्पाकाे सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठूलो सङ्ख्यामा तोपका गोला फेला परेका छन् । तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

बाइसे/चौबीसे राज्य एकीकरणको समयताका त्याे ठाउँमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताउनुभयो । अहिलेसम्म तीन सय वटा गोला फेला परेको र उत्खननकाे क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाइ छ ।

गोला भेटिएको जग्गा पाल्पामा रहेकाे नेपाली सेनाको हो । त्यही ठाउँमा सेनाले गेस्ट हाउस निर्माणका लागि घडेरी खनिरहेको छ । अहिले ती गोलाको सुरक्षित व्यवस्थापनका लागि पाल्पाकाे नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । फेला परेका गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको पाल्पा प्रहरीले जनाएको छ । ujjalionline

Leave a Reply