वैदेशिक रोजगारीलाई व्यवस्थित, भरपर्दो, सुरक्षित बनाउन म्याग्दी सामुदायिक पुस्तकालयले सुरू गरेको अभियान प्रभावकारी देखिएको छ । वैदेशिक रोजगारीलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विद्यार्थीसँग गरिएको कार्यक्रममा आफ्नो अभिभावकको बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन विद्यार्थीले चासो देखाउने गरेका छन् ।

रिड नेपालको आर्थिक सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले सञ्चालन गरिरहेको सुरक्षित स्थान्तरण दियो परियोजना अन्तरगत सुरक्षित आप्रवासन सम्बन्धि सचेतना कार्यक्रममा हतारमा विदेश जाने योजना बनाउँदा दलालको फन्दामा परेर ठगिने सम्भावनाका बारेमा विद्यार्थीले चासो देखाएका छन् ।

बैदेशिक रोजगारीमा जाँदा आफ्ना अभिभावकले भोग्नुपरेको समस्यामा बारेमा जानकार रहेका विद्यार्थीले अवको यात्रालाई सहज बनाउन धेरै जानकारी पाएको बताउँदै कार्यक्रम निकै फलदायी भएको भन्दै उत्साहित भएको म्याग्दी सामुदायिक पुस्तकालयकी प्रमुख एवम् परियोजनाकी सामाजिक परिचालक भुजु कटुुवालले बताउनुभयो ।

‘ दक्ष, सीपयुक्त र उत्पादनमूलक क्षेत्रका बारेमा विद्यार्थीको धेरै चासो देखियो, विगतमा आफ्नै अभिभावकले भोगेको दुख समेत खुलेर सुनाउन परियोजना माध्यम बनेको छ’ प्रमुख कटुवालले भन्नुभयो । आइतबार बेनी सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत २६ विद्यार्थीको सहभागितामा भएको कार्यक्रममा वैदेशिक रोजगारमा जाँदा कसरी सुरक्षित हुने ?, बैदेशिक रोजगारको सिलसिलामा कुनै बाधा अड्चन आयो भने क्षतिपुर्ति सहित कसरी सुरक्षित फिर्ता हुन सकिन्छ ? कानुन बिपरीत दलालको फन्दाबाट कसरी जोगिने ? लगायत विविध विषयमा जानकारी समेत गराइएको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा श्रीमानहरू विदेशी भूमिमा कठिन परिश्रम गरी नेपालमा पैसा पठाइरहेको अवस्थामा दुरुपयोग गर्ने र बैदेशिक रोजगारीकै कारण घट्ने डरलाग्दो सामाजिक तथा अपराधिक घटनाहरूहरु न्यूनिकरणमा समेत विद्यार्थीमार्फत समुदायमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने अभियान सञ्चालन गरिएको छ ।

परियोजना अन्तरगत हालसम्म बैदेशिक रोजागरीमा जाने तयारीमा रहेका, फर्किएर गाउँमै सिप मुलक कार्यहरु गरेका, समुदायमा फरक पेशामा आवद्ध भएका लगायत परियोजनाले लक्षित गरेको क्षेत्रमा कार्यक्रम गरिएको छ । हालसम्म १ सय ७० विद्यार्थीलाई कार्यक्रम मार्फत सचेतनामुलक गतिविधिमा जोडिएको म्याग्दी सामुदायिक पुस्तकालयले जनाएको छ ।

Leave a Reply