म्याग्दीको गाउँगाउँमा लैङ्गिक हिंसा विरुद्धको अभियान जारीरहेको छ । यसैक्रममा  रघुगंगा गाउँपालिका–३, राखुपिप्लेमा ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने यस वर्षको राष्ट्रिय नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसम्बन्धी कार्यक्रम गरिएको हो ।

अभियान अन्तर्गत पिप्लेका महिला, रघुगंगा माध्यमिक विद्यालय राखुपिप्ले र ज्ञानोदय मावि मौवाफाँटका किशोरकिशोरीहरु सहभागी कार्यक्रममा महिनावारी स्वच्छता तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतीकरण कार्यक्रम गरिएको आयोजकले जनाएका छन् । कार्यक्रमको उद्घाटन गर्दै राखुपिप्लेका वडा अध्यक्ष खिमबहादुर शाहीले परिवार तथा समाजबाट हिंसा उत्पन्न हुने भएकाले लैङ्गिक हिंसा न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार तथा म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक एवं महिला अधिकारकर्मी रेखाकौशल रेग्मीले लैङ्गिक हिंसा न्युनीकरणमा महिला आन्दोलनको इतिहास र उपलब्धिहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले प्रजनन् स्वास्थ्य र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र मार्फत उपलब्ध सेवासुविधा तथा सुआहारा कार्यक्रमका विज्ञ बालकुमारी पुनले सुरक्षित एवं मर्यादित महिनावारी र स्वास्थ्यमा पोषणको महत्वका विषयमा सहजीकरण गर्नुभएको थियो ।

सोही अवसरमा राखुपिप्ले स्वास्थ्यचौकीका प्रमुख शिवप्रसाद पाण्डेले १९औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा ‘म हिंसा सहन्न, आफू पनि गर्दिन र हिंसा गरेको देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धतासहित व्यानरमा हस्ताक्षर समेत गरिएको थियो ।

वडाध्यक्ष शाहीको अध्यक्षता, सचिव सविता कार्कीको स्वागत, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालन र वडा सदस्य आईती दर्जीको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रममा रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्य सम्झना परियार र मिलन म्याग्दीका सहसचिव एवं क्रियाशील पत्रकार प्रताप बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

रघुगंगा गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमको मिलन म्याग्दी र महिला अधिकार मञ्च म्याग्दीले आयोजना गरेका थिएभने रघुगंगा–३, पिप्ले वडा कार्यालय र सुआहारा कार्यक्रम दोस्रोले सहकार्य गरेका थिए । यसअघि बेनी नगरपालिकाको बेनीबजार, अन्नपूर्ण गाउँपालिकाको घार, धवलागिरिको खिबाङ, मालिकाको दिच्याम र देवीस्थानमा लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भैसकेको छ ।
नेपालमा १६ दिने अभियानको सुरुवात वि.सं. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सन् १९६० मा ल्याटिन अमेरिकाको डोमिनिकन गणराज्यमा महिला तथा मानव अधिकारकर्मी तीन दिदी बहिनीहरुको क्रुर शासकले निर्ममतापूर्वक हत्या गरेको थियो । हत्याको विरोधस्वरुप लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउँदै आएको पाइन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भैसकेको छ ।

महिलामाथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यस अभियानअन्तर्गत हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधिहरु र कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

 

Leave a Reply