रोजगारीका लागि बाग्लुङ पुगेका सल्यानको सिद्ध कुमाख गाउँपालिका १ बाझकाँडाका बुद्दि बुढाथोकीलाई फोन आयो ‘तपाईं तुरुन्तै आउनू, नानीलाई गाह्रो छ ।’ घटना गत असार दोस्रो साताको हो, सल्यान जिल्ला अस्पतालबाट आएको फोन थियो ।  श्रीमती चित्रा र केही आफन्त साढे तीन वर्षे छोरीलाई लिएर अस्पताल पुगेका थिए ।

जिल्ला अस्पतालले छोरीलाई ‘रगत निकै कम छ, अवस्था जे पनि हुनसक्छ’ भन्दै काठमाडौं लैजान सुझाव दियो । खलंगाबाट आफन्तले नेपालगञ्जसम्म पुग्न जिप रिजर्भ गरिदिए । नेपालगञ्जमा पनि पार लाग्ने नदेखेपछि उनीहरू काठमाडौं आउने निर्णय गरे । उता नेपागञ्जबाट एक आफन्तको साथमा आमाछोरी र बाग्लुङबाट बुद्दि असार २० गते कान्ति बाल अस्पताल आइपुगे । छोरीलाई अस्पतालमै राखेर सम्भावित सबै परीक्षण गरियो । करिब २० दिनपछि रिपोर्ट आयो, ब्लड क्यान्सर भएको रहेछ । गाउँमा कसैलाई ब्लड क्यान्सर भएको नदेखेका र बच्चालाई पनि क्यान्सर हुन्छ भन्ने पत्तो नपाएका बुढाथोकी दम्पतीलाई त्यो कुरा सपनाजस्तो लाग्यो ।

“अब यो छोरी रहन्न घरमा भएका दुईवटाको पनि बिजोग हुने भयो, यति सम्झिएर धरै रोएँ । डाक्टरले छोरीलाई निको हुन्छ नअत्तिनुस् भन्दै सम्झाउनुभयो । अनि जति खर्च लागे पनि उपचार गर्छु भन्ने हिम्मत जागेर आयो,” बुद्दिले सुनाए ।

धामी झाँक्रीमा साढे तीन लाख खर्च, १९ भेडाबोका र सैयौँ कुखुराको बलि
जन्मिदा ३ किलो पाँचसय ग्राम तौल भएकी छोरी तीन वर्षसम्म केही बिरामी नभइ हुर्किइन् । ०७८ माघदेखि अचानक ज्वरो आउने, जिउ सुन्निने, खान मन नगर्ने हिँड्न नसक्ने हुँदै गइन् । स्थानीय शारदा मेट्रो अस्पतालमा पटकपटक उपचार गराए, एन्टिबायोटिक दिएर केहीदिन ठिक भएजस्तो हुन्थ्यो । तर, केही दिनमा पुनः उस्तै । छोरीको उपचारका लागि  बुढाथोकी परिवारले सल्यानका कुनै अस्पताल लैजान बाँकी राखेनन् । सल्यानका अस्पतालबाट उपचार सम्भव नदेखिएपछि ०७९ वैशाखमा नेपालगञ्ज ल्याए । त्यहाँ ११ दिनसम्म भर्ना गरेर उपचार गर्दा केही सुधार त देखियो । तर, निको भएन । अस्पतालकै एक कर्मचरीले भने, “नानीलाई बर्मा, देउता लागेको हुनसक्छ । बरु गाउँघरतिरै लगेर एकचोटी झारफुक गराऊ ।”

अनेक उपचारले छोरीलाई निको नहुँदा निरास भएका बुढाथोकी दम्पतीलाई ती कर्मचारीको कुरा ठिकै लाग्यो । गाउँ फर्काएर धामी खोज्नतिर लागे बुद्दि । अर्को गाउँका जान्ने भनेर ल्याइएका धामीलाई एक रात एकदिन धामी बसेको २४ हजार रुपैयाँ, एउटा बोका र तीनवटा कुखुरा बुझाए । धामीले छोरीलाई बुद्दिका बुवाको आत्माले दुःख दिएको बताए । उनका बुवा उनी १० महिनाको हुँदा अर्थात् ३५ वर्ष अगाडि बितेका थिए । त्यसपछि छोरीको उपचारका लागि निरन्तर धामी झाँक्रकै भर परिरहे । कुनै दिन त सात जनासम्म झाँक्री लगाए । तीन महिनाको अवधिमा उनीहरूले बोका, भेडा, साँडा गरी १९ वटा चौपाया बलि चढाए । कुखुरा त सैयाँै । बलि र भेटी गरी साढे तीन लाख रुपैयाँ सकियो । तर,  छोरीको रोग पत्ता लागेन । ब्यथा २० को १९ भएन ।

उपचारमा लागेको ऋण घर बेचेर तिर्ने योजना  
दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका बुद्दिसँग छोरी बिरामी हुनुअघि साढे दुई लाख रुपैयाँ हातमा थियो । त्यसमध्ये एकलाख रुपैयाँ सुरुको उपचारमा सल्यानका अस्पतालहरूमा सकियो, नेपालगञ्जमा ११ दिन भर्ना गरेर उपचार गराउँदा एक लाख रुपैयाँ खर्च भयो । धामीझाँक्री, बलि, भेटी गर्दा थप साढे तीन लाख सकियो ।

काठमाडौं आइपुगेपछि रोग पहिचान नहुँदासम्म एकलाख ८० हजार रुपैयाँ खर्च भएको बुद्दी सुनाउँछन् । क्यान्सर पहिचान भएपछिको उपचार सरकारको विपन्न सहुलियत उपचार सेवा (एक लाख रुपैयाँसम्म छुट पाउने कार्ड) मार्फत् भइरहेको छ । अस्पतालमा सबै उपचार सामान्य प्रक्रियामा भए चारदेखि पाँच लाख रुपैयाँ खर्चमा उपचार हुने बताइएको छ । “आफूसँग भएको पैसा सकिएपछि सबै ऋण गरेर चलाएको छु, उता दुईजना छोराछोरीको स्कुलको फि ४५ हजार भयो भनेर फोन आएको थियो । अब थप उपचार गर्न र ऋण तिर्न  घर बिक्रीमा राखेको छु । तर, बिकेको छैन,” बुद्दिले थपे “अब त चारै लाख आए पनि दिनुपर्ला भनेर पनि सल्लाह गर्दै छु ।”

उनका १४ र १२ वर्षका छोरा र छोरी छन् । ७० वर्षीया आमा छिन् । यता, बुढाथोकी दम्पती र बिरामी बालाजु चोकनजिकै जस्ताको छाप्रोमा मासिक दुई हजार रुपैयाँ भाडा तिरेर छोरीको उपचारका लागि बसेका छन् ।

यसरी हुँदै छ उपचार 
बालिकाको उपचारमा संलग्न कान्ति बाल अस्पतालका बाल रक्त क्यान्सररोग विशेषज्ञ डा. सुधीर सापकोटाका अनुसार उनको अवस्था उच्च जोखिमयुक्त भने छैन । तर, ढिलो उपचारमा आइपुगेकाले उपचारकै क्रममा जटिलता हुने तथ अन्य संक्रमण हुने सम्भावना रहन्छ । अहिले उनको किमोथेरापीमार्फत् उपचार भइरहेको छ । चार चरणमध्ये अहिले तेस्रो साइकल किमो दिइँदै छ । चार साइकल पूरा भएपछि अवस्था हेरेर थप उपचार प्रक्रिया अघि बढाइनेछ ।
कान्ति बाल अस्पतालमा पहिचान भएकामध्ये ५० प्रतिशत बालबालिकामा रक्त क्यान्सर हुने गरेको तथ्यांक छ । तीमध्ये १० वर्षमुनिका बालबालिकामा पूर्ण रुपमा निको हुनसक्ने रक्त क्यान्सर देखिने गरेको छ । तर, बालबालिकामा पनि क्यान्सर हुन्छ । र, त्यसको समयमै पहिचान गर्नुपर्छ भन्ने चेतनाको अभावका कारण अभिभावकहरू वैकल्पिक उपचारमा पुग्ने गरेकाले र यस्ता घटनाहरू हुने गरेको डा. सापकोटाको अनुभव छ । Source:-baahrakhari.com

बालिकाको उपचारमा सहयोग गर्न चाहानेहरूका लागि : ९८६८२७९४९३ बुद्दि बुढाथोकी 

Leave a Reply