विदेशी पाहुनाहरु सहित पहिलो पटक टिकोट हुँदै अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भ्रमणमा आउनुभएका विश्व भेगन अर्गनाइजेशनका ज्याक टिकोटको प्राकृतिक सुन्दरता देखेर मख्ख पर्नुभयो ।
“यहाँको चिसो हावापानी,नजिकैबाट हिमालको दृश्यावलोकन,आग्र्यानिक खाना,पदयात्रामा देखिने रोमाञ्चकारी दृश्य, लगाएतका कारण विदेशी पर्यटकहरु टिकोटमा एक दिन बसेर यहाँबाट दृश्यावलोकन गर्न रुचाउने उहाँले बताउनुभयो । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताउनुभयो । “पदमार्गले नछोउन्जेलसम्म विदेशी पर्यटकहरु भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका वासिन्दाहरु अहिले दिनहुजसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन् ।
गाउँमा होमस्टे (घरवास सेवा) संचालन भएका छन्,स्थानीय उत्पादनको विक्रि बढेको छ,गाउँलेको आम्दानीमा वृद्धि भएको छ” पूर्व गाउँपालिका उपाध्यक्ष मगरले भन्नुभयो । पाँच वर्षदेखि इको पदमार्गका रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताउनुभयो ।
सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् ।
पदमार्ग हुँदै देखिने धौलागिरि, अन्नपूर्ण, मनासलु, लाङटाङ लगायतका हिमालको मनोरम हिमशृङ्खला, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने, चौँरीपालन, भेडा पालन लगायतले पर्यटकलाई आकर्षण गरेको व्यवस्थापक पुनले जानकारी दिनुभयो । पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायतमा खर्च गरिने भएकाले पनि पर्यटक उत्साहित बन्ने गरेका छन् ।
एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ र मोहरेडाँडा, घोरेपानी, खोप्रालेक, नारच्याङहुँदै भुरुङ तातोपानी पुगेर टुंगिन्छ । “गाउँमै सडक आएको छ,गाउँलेहरुलाई सडकले सुविधा भएको छ भने घुम्न आउने पर्यटकहरु पदमार्गमार्फत आवतजावत गर्ने गर्दछन्” स्थानीय ६१ वर्षिया गंगा पुनले भन्नुभयो “ गाउँमा यस्तो परिवर्तन आउला भनेर मैले त सपनामा पनि सोचेकी थिएन् ।

Leave a Reply