म्याग्दीको मालिका गाउँपालिका-६,दिच्यामका ३३ बर्षिय नगेन्द्र आचार्य गाउँघरमा आयोजना हुने मेलापर्वमा बासबाट बनेको धनुषले धेरै उपाधी जितेका थिए । पश्चिम म्याग्दीमा आयोजना हुने आर्चरी प्रतियोगितामा आचार्यले एकल र समुहमा धेरै खेल खेलेका छन् ।

सामान्य परिवारमा जन्मिएका आचार्यले मेलापर्व र फुर्सदको समयमा मात्रै घरमा भएको आर्चरी लिएर निस्कन्छन् । कृषि पेशामै ब्यस्त हुने आचार्यले गाउँघरमै खेलेको अनुभवले अहिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नेपाल पुलिसबाट स्वर्ण जितेका छन् । विभागीय टोलीबाट आर्चरीमा स्वर्ण जित्दा आचाार्यको खुसीको सीमा थिएन ।

नियमित अभ्यासविना बिभागीय टोलीबाट प्रतियोगितामा होमिएका आचार्यले एकल विधामा स्वर्ण र समुहमा काँस्य पदक लिएर बिहिबार घर फर्किदै छन् । ‘यो स्वर्णपदकले खेलको महत्व बुझ्न पाएको छु,‘बन्द प्रशिक्षणको क्रममा केही नयाँ सिक्न पाए’ आचार्यले भने । उनले घरायसी काम, मेलापातबाट समय निकालेर खेलेको खेलबाटै यो पदकसम्म पुगेको बताउँछन् ।

‘सधै खेल खेल्न सक्ने अवस्था छैन, कृषि पेशामै समय दिनुपर्छ, अब भने खेलबाट पनि केहीगर्न सकिन्छ भन्ने लागेको छ’ आचार्यले भने । गाउँघरमा आयोजना हुने मेलाबाट उनले नगदसँगै खसीबोका र अन्य पुरस्कार समेत जितेर घर फर्किदा यो खेलमा भविस्य छैन भन्ने धेरै थिए ।

घरभित्र स्वर्ण, रजत र काँस्य पदक झुण्डाएर राखेका आचार्यले राष्ट्रिय प्रतियोगिताबाट एक स्वर्ण र काँस्य जितेपछि अहिले गाउँघरमा पाएका मेडलहरुको महत्व बुझेको बताउँछन् ।

उनले यो प्रतियोगितामा नियमित अभ्यास, अनुभवी सिनियर खेलाडीहरुसँगै प्रतिस्पर्धा गर्दै शीर्ष स्थानमा पुगेर पदक जित्नेपछि अव नेपाल प्रहरीको नजरमा परेकाले भविस्यमा राष्ट्रिय खेलमा अवसर पाउनेमा आशाबादी छन् । उनले अब नेपालबाट अन्तराष्ट्रियस्तरका खेलमा सहभागी भएर नेपाललाई अन्तर्राष्ट्रिय दिलाउने सपना रहेको बताए ।उनले देशको प्रतिनिधित्व गरेर बाहिर खेल्न समेत अझै मेहनत आवश्यक रहेको बताए ।

आफ्नो ‘डेब्यु’मै स्वर्ण पदक जितेकाले पनि अव नियमित अभ्यास र प्रतियोगिताबाट बलुटेको अनुभवालाई थप खेलमा प्रयोग गर्ने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आचार्यसँगै गएका हरि बुढा, जिवन पुनको समुहले समेत काँस्य पदक जितेको थियो । म्याग्दीमा आर्चरी खेल लोकप्रिय छ । जिल्लास्तरमा नियमित तथा ग्रामिण क्षेत्रमा समेत नियमित खेल हुने गरेको छ ।

Leave a Reply