गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दु बेनी-गलेश्वर खण्डको सडक आयोजना बन्ने भएको छ । एकदशक यता अस्तब्यस्त रहेको सडकखण्डमा बेनी–जोमसोम–कोरला सडकका आयोजनाले कालोपत्रे सहित आवश्यक संरचना बनाउन १४ करोड बजेट विनियोजन गरेपछि अब निर्माणकार्यले गति लिने भएको हो ।

आयोजनाले दुईदिन अगाडी कुल लागत २० करोड अनुमान गरी तत्काल १४ करोड बजेट बिनियोजन सहित टेन्डर गरेको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । ‘एकबर्षभित्र नै सडकले गति लिन्छ, अब उक्त सडकखण्डको समस्या समाधान हुन्छ’आयोजना प्रमुख प्रजापतिले भने ।

तीन किलोमिटर दूरीको सडकमध्ये यसअगाडी निर्माण सम्पन्न भएको कालोपत्रे बाहेक करिब २ किलोमिटर सहित कल्र्भट, नाली, पर्खाल सहितका संरचनाहरू बनाइने छ ।

सडकखण्डमा रहेको दुईवटा बर्खे खोला सहित जोखिम मानिएका ठाउँमा आवश्यकता अनुसारको संरचना बनाइने छ । जिर्ण सडकका कारण प्रसिद्ध धार्मिकस्थल समेत रहेको गलेश्वर मन्दिरको दर्शनका लागि जोन भक्तजनले समेत सास्ती खेप्नु परेको थियो । सडक विस्तारको क्रममा जलेश्वर खण्डमा स्थानीयको सयौं रोपनी जमिन भासिएको थियो ।

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा असार, साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको अवस्थामा अव भने प्रयाप्त बजेट विनियोजन भएकाले सहज हुने भन्दै तोकिएको समयमै सम्पन्न गर्न माग गरेका छन् । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको अन्य खण्डमा समेत बजेटको समस्या नभएको जनाइएको छ ।

Leave a Reply