अविरल वर्षासँगै आएको पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । शुक्रवार देखि निरन्तरको वर्षासँगै आएको पहिरोको कारण बेनी-जोमसोम–कोरला सडक अन्तरगतको बैशरीमा पहिरोले सडक अवरुद्ध भएको छ ।

त्यस्तै खोलामा बाढीको बहाव उच्च भएको कारण बेगखोलामा पनि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो । प्रहरी निरीक्षक ढकालका अनुसार रघुगंगा गाउँपालिका–२ बैशरी एवम् रघुगंगा गाउँपालिका–१, बेगखोलामा सडक अवरुद्ध छ ।

त्यस्तै बेनी–दरवाङ–जलजला सडक खण्ड अन्तरगतको बाङ्गे पहिरोमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरोले अवरुद्ध भएको सडक खुलाउनका लागि प्रयास भएको भए पनि वर्षा नरोकिएको कारण केही कठिनाइ भएको भए पनि खुलाउने प्रयास जारी रहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडक खुलाउनका लागि जोडर सहित त्यस तर्फ लागेको बताउनुभयो । शेरचनले भन्नुभयो पहिरो झरेको स्थान पुगेपछि मात्रै सडक खुलाउन कति समय लाग्छ भन्न सकिने बताउनुभयो । पहिरो झरेको जानकारी आएपछि अन्नपूर्ण गाउँपालिका–३ दानाबाट डोजर सहितको टोली पहिरो झरेको स्थान तर्फ लागेको शेरचनको भनाई छ ।

Leave a Reply