नेपाली काङ्ग्रेस म्याग्दीले ‘जनताको साथमा काङ्ग्रेस’ अभियान अन्तरगत शनिबार पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको बावियाचौरमा प्रदेशसभा ‘ख’ को भेला गरेको छ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सुरु भएको अभियानमा सम्बोधन गदैं केन्द्रिय प्रतिनिधि एवम् पार्टीका केन्द्रिय सदस्य दिनेश कोइरालाले यसपटक नेपाली कांग्रेसले म्याग्दीमा विजय प्राप्त गर्नुपर्ने बताएका छन्। ‘कम्यूनिष्टले जितेका र बलियो मानिएका क्षेत्रमा धेरै कार्यक्रम केन्द्रित गर्नुहोस्,‘सबैको सक्रियता भएमा कांग्रेसलाई जित्न सजिलो छ’ प्रमुख अतिथि कोइरालाले भने ।

उनले आगामी सरकार पनि कांग्रेसकै नेतृत्वमा हुने भएकाले गठबन्धन भएमा इमान्दारिता पूर्वक सहकार्य गरी गठबन्धनलाई विजय बनाउनुपर्ने बताए । मंगला, मालिका र धवलागिरीका कांग्रेस प्रतिनिधिहरुको सहभागीता रहेको बैठकमा जिल्ला सभापति खमबहादुर गर्बुजाले चुनावी अभियानलाई लक्षित गरी तयारी सुरु भएको बताएका थिए ।

बैठकमा वडा, गाउँ बस्ती सहित घरधरमा जाने गरी तयारी गर्न समेत नेताकार्यकर्तालाई निर्देशन दिइएको छ । भेलामा पूर्व सभापति रेशमबहादुर बानियाँ, उपसभापतिद्धय हरिकुमार श्रेष्ठ, केबी भण्डारी लगायतका पदाधिकारी, भात्रृसंगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने, गठबन्धन हुदाँको अवस्थामा निर्वाचन जित्न सक्ने आधारहरु, गठबन्धनमा आवद्ध दलहरुसँग सहकार्य लगायतका विषयमा अभियानका बारेमा समेत छलफल भएको तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले बताए ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानका लागि जनताको घर–आँगनमा पुग्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरुबारे विविध ढंगले अन्तरक्रिया गर्ने बताइएको छ । बैठकको अध्यक्षता पार्टी सभापति गर्बुजा, स्वागत प्रदेशसभा ख का सभापति टंक पुन र सञ्चालन पार्टीका जिल्ला सहसचिव श्रीराम पौडेलले गरेका थिए।

 

 

 

Leave a Reply