बर्खा यामको बेला खेती लगाएको ज्याला खेतालालाई बुझाउनु छ। नयाँ आर्थिक वर्ष सुरु भएका कारण पुराना हिसाब मिलान गरेर सकाउनुपर्ने छ। यसका लागि ज्येष्ठ नागरिकको एउटा आधार सामाजिक सुरक्षा भत्ता हो।स्थानीय तहले बैङ्कमा जम्मा गरिदिएको भत्ता लिन सदरमुकाममा भएकाहरूलाई सहज भए पनि ग्रामीण क्षेत्रमा बस्नेहरूलाई त्यसमा पनि बर्खाको बेलामा झनै चुनौती छ।वर्षा र चिप्लोका कारण हत्तपत्त सवारी नपाइने, पाइहालेमा पनि उस्तै, भिड, रोपाइँ गर्नु कि भत्ता लिन बजार झर्नु!

यही समस्या समाधानको लागि पर्वतका जलजला गाउँपालिका–५ लेखफाँट र ६–शालिजाले भत्ता वितरण गर्दै आएको बैङ्कको शाखालाई गाउँमै लगेर सामूहिक रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन्। गाउँपालिकाको व्यवस्थापन, वडा कार्यालयहरू र स्थानीय प्रहरी चौकीको समन्वयमा ज्येष्ठ नागरिकले भत्ताको लागि भोग्दै आएको सास्तीलाई हटाउने गरी राष्ट्रिय वाणिज्य बैङ्कले वडामा नै पुगेर भत्ता बापतको रकम वितरण गरेको हो।

‘जलजलाको कोहीको खाता पर्वत सदरमुकाम कुश्माका बैङ्कमा रहेको छ कोही खाता म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका बैङ्कमा रहेको छ। जता भए पनि यो बेलामा यति माथिबाट बजारमा झर्नु सहज अवस्था थिएन। युवा र प्रौढले सके पनि ज्येष्ठ नागरिकले बजार आउजाउ गर्न समस्या हुन्छ,’

गाउँपालिकाका अध्यक्ष राजु आचार्य भन्छन्, ‘भत्ता बुझ्न गाउँलेहरू सहर झर्दा लाम लागेर आउनुपर्ने अवस्था हुन्छ, बैङ्कबाट केही कर्मचारी जाँदा काम सकिन्छ भने पाका उमेरका व्यक्तिलाई सास्ती नदिऊँ भनेर गाउँपालिकाको व्यवस्थापनमा रकम बाँडिएको छ।’

राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाका प्रबन्धक नवराज ढुङ्गानाले गत आर्थिक वर्षको अन्तिम चौमासिकको सामाजिक भत्ता वडामै पुगेर वितरण गर्दा सेवाग्राहीहरू खुसी देखिएको बताए।गाउँमै भत्ता पाउँदा बेनी आउने जाने खर्च र समयको बचत हुनुका साथै बर्खाको बाटोमा हुन सक्ने दुर्घटनाको जोखिमलाई पनि कम गर्न सकिएको उनको भनाइ छ।

ढुङ्गानाको सहितको कर्मचारीहरूको टोलीले दुई ओटै वडा कार्यालय क्षेत्रबाट सेवा प्रदान गरेका थिए। ‘पाको मान्छेहरू बजार झर्न नपरेका कारण कति खुसी हुनुभएको देखियो। यति टाढाबाट उहाँहरूलाई बजारमा धाउनुभन्दा हामी नै दुःख गर्ने भनेर आएका हौँ,’ उनले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणदेखि अन्य कामका लागि पनि विस्तारै गाउँमा पनि बैङ्कका शाखाको आवश्यकता महसुस हुन थालेको छ। गाउँमा पनि विस्तार हुन सकेमा थोरै पैसा निकाल्नको लागि सिङ्गो दिन, समय र पैसा खर्चिनुपर्ने थिएन।’बैङ्कले लेखाफाँटका एक सय ६५ जना र शालिजाका एक सय ४४ जना सेवाग्राहीलाई करिब ३० लाखभन्दा बढी रुपैयाँ भुक्तान गरेको छ।

नौ ओटा वडाहरू रहेको जलजला गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैङ्क, एनआइसी एसिया बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कले सामाजिक सुरक्षा भत्ता वितरणको काम गर्दै आएका छन्। बाँकी रहेका सात ओटा वडामा पनि बैङ्कलाई आगनीमा जाने गरी व्यवस्थापन गर्नको लागि बैङ्क र सुरक्षाकर्मीसँग समन्वय भइरहेको अध्यक्ष आचार्यको भनाइ छ।सामाजिक सुरक्षा भत्ता वितरणको लागि गाउँ पुगेका बैङ्कका कर्मचारीहरूले सोही अवसरमा वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न गरेका छन्। थाहा खवरबाट साभार 

 

Leave a Reply