म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको घनाजंगलको बीचमा अवस्थित मौतिचौरमा मुक्तिनाथ मन्दिरको जस्तै झल्को दिने गरी निर्मित १०८ धाराको उद्घाटन गरिएको छ । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने मौतिचौरमा दानाबासीले १०८ धारा, मठमन्दिर, स्नानगृह सहित भक्तजनलाई बिश्राम गर्ने पाटीपौवा निर्माण गरिएको हो ।

गाउँपालिकाको करिब ८ लाख सहयोग बाहेक स्थानीयको पहलमा करिब २५ लाख जुटाएर १०८ पानीको मुल भएको स्थानमा १०८ धारा सहित सामान्य मन्दिरलाई ब्यवस्थित बनाएको उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले बताउनुभयो । भारतको राजस्थानबाट ढुंगा र गाईमुखी लिएर धारा बनाइएको छ ।

स्थानीयबासीले २० लाखको लागतमा १०८ धारा, कपडा फेर्ने घर ३ लाख, ठाँटी भवन मर्मत तथा जस्तापाता फेर्न २ लाख ७९ हजार खर्च गरिएको छ। मन्दिर अन्य संरचना बनाउन स्थानीय समाजसेवी लेप्टन बेलबहादुर पूर्जा, दाना हाल यूकेमा बसोबास गर्ने कृष्ण तुलाचन, हरिमायाँ राम्जाली, आनन्द पुन लगायतको अगुवाईमा भएको थियो ।

हिउँदमा पनि नसुक्ने १०८ ओटा मुलहरुबाट पानी ल्याइएकोले पनि यो धाराको विशेष महत्व रहेको छ । १०८ धारा सहित निर्मित संरचनाको शनिबार एक कार्यक्रमका बिच वडा अध्यक्ष रमेश पूर्जा, समाजसेवी कृष्ण तुलाचन,अन्नपूर्ण गापा कार्यपालिका सदस्य आशा गुरूङले उद्घाटन उद्घाटन गर्नुभयो ।

सोही अवसरमा वडा अध्यक्ष पूर्जाले मौतिचौरको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर अगाडी बढ्ने बताउनुभयो । त्यस्तै दाना घर भई हाल यूकेमा रहेका कृष्ण तुलाचनले हरेक योजनाहरू चन्दा संकलनबाट सम्भव नहुने भएकाले मर्मत तथा पूर्वाधारमा मौतिचौरमा उत्पादन हुने जडिबुटी, खानेपानी सहित विभिन्न आम्दानीको स्रोतबाट गर्नुपर्ने बताउनुभयो ।

डेढबर्ष अगाडीसम्म पूजाआजा गर्न आउँदा समेत बन्यजन्तुको आक्रमणबाट त्रसित हुनुपर्ने अवस्था,एकरात काट्न समेत चरम असुविधा रहेको अवस्थामा अहिले सयौंको संख्यामा भक्तजनहरू आउने गरेको मन्दिरका मुख्य पूजारी टेकबहादुर थापाको भनाई छ । मोतीचौरमा शिद्घबहार, गुफा मन्दिर र विष्णु लक्ष्मी मन्दिर रहेका छन् ।

सिद्धबहार र गुफा मन्दिरमा बली दिइन्छ भने विष्णुलक्ष्मी मन्दिरमा शाहकारी भाकल गरिन्छ । भाकल पूरा भएपछि भक्तजनले गरेको सहयोगले समेत मन्दिरमा थप संरचना बनाउन सहज भएको ब्यवस्थापन समितिको भनाई छ। मौतिचौरमा प्रत्येक वर्ष जनै पूर्णिमाको अवसरमा विशेष पूजाआजा हुन्छ । सन्तान प्राप्ती, बैदेशिक रोजगार, स्वास्थ्य, शिक्षा लगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन जाने गरेका छन् ।

कसरी पुग्ने?
अनकन्टार जंगल बीचमा अवस्थित मोतिचौर । चारैतिर डरलाग्दो पहाड,कानमै गुन्जिने अनेक जातका चराचुरुङ्गीको आवाजले आनन्द अनुभुती हुन्छ । यहाँ पुग्न बेनी–जोमसोम सडकखण्डबाट अन्नपूर्ण गाउँपालिका–३, दानासम्म सवारीसाधनको प्रयोग गरी पुग्ने ।त्यहाँबाट मौतिचौरसम्म पुग्न दुवाडीसम्म निर्माणधिन सडकबाट मोटरसाईकलमा पुग्न सकिने भएपनि ।

सडकमा घुम्ती धेरै भएकाले जोखिम रहेको अवस्थामा दाना डाँडागाउँदेखि जलुका, दुवारी, हिलेखर्क हुदै पैदलयात्राबाट करिब साढे ३ घण्टामा सजिलै पुग्न सकिन्छ । पदैलमार्गमा पर्ने बस्तीका बासिन्दाको हार्दिकताले समेत यात्रा सहज हुन्छ । बस्तीबाट उकालो लागेपछि पशुचौपाया, भेडीगोठमा रहेका कुकुरबाट सर्तक भने हुनुपर्छ ।

 

Leave a Reply