जोमसोम पुग्न हवाई सेवा पोखराबाट सहज छ। तर बेलाबखतका दुर्घटनाले यो रुटको यात्रामा जानेलाई ढुक्क हुने अवस्था भने छैन। पोखरा-जोमसोम उडानमा इनरुटमै समस्या हुँदा बारम्बार दुर्घटना हुने गरेको छ। सोही दुर्घटना आइतबार पुनः दोहोरिएको छ।

पोखरा-जोमसोम रुटमा २७ मिनेटको समय लाग्छ। तर इनरुटमा डाँडाले छेकिँदा तीन मिनेटजति जहाज सम्पर्कविहीन हुने गरेको छ। दुर्घटनाको समयमा मात्रै यो विषय उठ्ने गर्दछ। डाँडामा टावर र सिग्नलका उपकरण राख्ने चर्चा चल्ने गर्दछ। पुराना जाँचबुझ आयोगले दिने प्रतिवेदनमा समेत यो विषय उल्लेख गरिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स कम्पनीहरू पनि दुर्घटनाको समयमा मात्रै यो विषय उठाउने गर्दछन्। वर्षौंदेखि सानो सिग्नलको टावरसमेत राख्न नसक्दा अकालमा यात्रुहरूले ज्यान गुमाउनु परेको छ। इनरुटमा समस्या हुँदा पाइलट र एटीसीबीचको सम्पर्क ३ मिनेटसम्म टुट्ने गर्दछ।

पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन-एन एईटी ट्विनअटर विमान बिहान ९ बजेर ५५ मिनेट गएपछि जहाज सम्पर्कविहीन भएको थियो। जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले जानकारी दिएका छन्। जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना छन्।

उड्ने क्रममा पोखरा र जोमसोमबाट मौसम अनुकुल देखिए पनि बीचमा गएर हवाई दुर्घटना भएको एयर ट्राफिक कन्ट्रोलरले जनाएको छ।

यसअघि पनि यस्तै दुर्घटना

२०७२ फागुन १३ गते पनि पोखराबाट उडेको तारा एयरको विमान म्याग्दीको दाना गाविस क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २३ यात्रुको मृत्यु भएको थियो।

जोमसोम उडानमा सहरी क्षेत्रमा अनुकुल अवस्था रहे पनि बीच भागको अवस्था थाहा नै नहुने गर्दछ। यो रुटमा जहाज एटीसीको समेत सम्पर्कमा केही समय हुँदैन। सन् १९९८ मा एटीएससी लुम्बिनी एयरको विमान दुर्घटना हुँदा चालकदलसहित १८ को ज्यान गएको थियो।

यस्तै अग्नि एयरको जहाज २०६९ जेठ १ मा सोही रुटमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा चालकदलका २ सदस्य, १६ भारतीय पर्यटक सवार रहेका थिए। घटनामा चालकदलका २ र १३ भारतीय पर्यटकको ज्यान गएको थियो। विमानमा आगो नलागेकाले ६ जनाको घाइते अवस्थामा उद्धार हुन सकेको थियो। सबै भारतीय पर्यटक मुक्तिनाथ दर्शनका लागि आएका थिए। जहाज जोमसोम विमानस्थलमा अवतरणका क्रममा नजिकैको पानीट्यांकी डाँडामा ठोक्किएर दुर्घटना भएको थियो।

यस्तै २०७० मा पनि नेपाल एयरलाइन्सको विमान दुर्घटना भयो। जहाज मार्फत गाविस-५ स्थित पुथाङ विमानस्थलको धावनमार्गबाट कालीगण्डकी नदीमा खस्दा चालक दलका सदस्य समेत सबै २१ जना यात्रु घाइते भएका थिए। विमानस्थलको धावनमार्गमा ओर्लिएको जहाज झन्डै २० मिटर अघि बढेपछि केही तल कालीगण्डकी नदीमा खसेको थियो।

जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान २०५९ भदौ ३ गते दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा मुत्यु भएको थियो। बारम्बार विमान दुर्घटना भएर पोखरा-जोमसोम हवाई उडानमा मानवीय क्षति भइरहँदा पनि नियामक मुकदर्शक हुँदा टावर र सिग्नलका उपकरणमा वेवास्ता भइरहेको छ।

Leave a Reply