बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी  उम्मेदवार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेदवार चयन गरेको हो ।

केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो ।

जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी सहित प्रमोद श्रेष्ठ, सन्तोष रावल र नारायण जिसीको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको थियो । प्रदेशमा सिफारिस गरिएका मध्यबाट केसीले मेयरको टिकट प्राप्त गर्नुभएको हो । त्यस्तै उपमेयरको उम्मेदवारको टिकट पशुपति शाहीले पाउनुभएको छ ।

चारैजना उम्मेदवार सवल र योग्य देखिएपछि एमालेलाई टुङ्गो लगाउन सकस परेको थियो । विभिन्न प्राकृतिक प्रकोप तथा विपदको समयमा जिल्लाका नागरिकहरुको सेवामा समर्पित केसीलाई मेयरको उम्मेदवार बनाउन सामाजिक सञ्जालहरुमा समेत प्रतिक्रिया आइरहेका थिए ।

Leave a Reply