स्थानीय तहको निर्वाचन आउन लगभग एक महिना बाँकी रहँदा सत्तारूढ पाँच राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने औपचारिक घोषणा गरेको छ ।

गएको बिहिबार म्याग्दीका पाँच वटा राजनितिक दलले जिल्लाका ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने औपचारिक सहमति गरेपनि चुनावी तालमेलको मोडालिटी बनाउने अझै सफल हुन सकेका छैनन् ।

पाँच दलिय गठबन्धनले सबै आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने बताएपनि तालमेलको मोडालिटी र गाइडलाइन नै प्रष्ट नहुदाँ समस्या भएको हो ।  जिल्लाको तल्लो तहसम्म कार्यकर्ताहरूलाई गठबन्धनप्रति प्रतिबद्ध गराउने काम अहिलेसम्म पाँच दलिय गठबन्धनबाट हुन सकेको छैन् ।

गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले विभाजनपछि बनेको एकिकृत समाजबादी, राष्ट्रिय जनर्मोचा पार्टी र संघीय समाजवादीले कुन–कुन ठाउँमा कति–कति प्रतिशतका दरले सिट बाँडफाँट गर्ने भन्ने जस्ता प्राविधिक कुराहरू हुन सकेको छैन् ।

जिल्लामा सबैभन्दा कमजोर मानिएका राजमो र संघीय समाजवादीले समेत सबै पालिकाको कम्तिमा वडासम्म प्रतिनिधित्वको माग तेर्साएको छ भने माओवादी केन्द्रलेकेही प्रमुख, प्रमुख नपाएको स्थानमा उपप्रमुख सहित करिब आधा हिस्सामा दावी गरेको छ ।

संगठन विस्तारकै क्रममा रहेको एकिकृत समाजवादीले समेत पालिका सहित वडामा आफ्ना उम्मेदवार तयारी अवस्थामा रहेको संकेत गरेको छ ।गठबन्धनको पालिकास्तरमा भइरहेका छलफल सकारात्मक बाटोमा छैनन् ।

मंगला र रघुगंगा गाउँपालिकामा भएको छलफलबाट नेपाली कांग्रेस झस्किएको छ भने अन्य पालिकाहरूमा समेत सिट बाँडफाँटमा अहिलेसम्म सकारात्मक संकेत देखिएको छैन् । छलफलमा सहभागी नेपाली कांग्रेसका एक नेताका अनुसार सोमबार रातीसम्मको छलफलबाट टुंगोमा पुग्ने अवस्था नभएको बताएका छन् ।

त्यस्तै माओवादी केन्द्रका एक जिल्ला नेताले सत्ताधारी बाहेक पनि गठबन्धनको शुभ संकेत मिलेकाले आफ्नो पोजिशन प्रष्ट भएको अवस्थामा आवश्यकता अनुसार तालमेल खुल्ला रहेको बताउने गरेका छन् । माओवादी केन्द्रले मालिका गाउँपालिका अध्यक्ष सहित ३ वडा,मंगलामा ३ वडा, रघुगंगामा उपप्रमुख सहित ४ वडा, धवलागिरी, अन्नपूर्णमा समेत प्रमुख वा उपप्रमुख सहित ५० प्रतिशतको हाराहारीमा दावी गरेको छ ।

गठबन्धनका दलले वडास्तरबाट आफ्नो मत सहित जिल्लाभरको अवस्था पार्टीको केन्द्रिय कार्यालयमा पठाइसकेका छन् । विगतमा निर्वाचनमा मुस्किलले जिल्लाभर ३ सय मत ल्याउन दलको समेत अस्वभाविक दावीले समस्या भइहरेको एक नेताले बताए । काग्रेसले धेरै भागबन्डा गरेर तालमेल नगर्ने संकेत गरेको छ ।

पाँच दलबीच कुन–कुन ठाउँमा कति–कति प्रतिशतका दरले सिट बाँडफाँट गर्ने भन्ने जस्ता प्राविधिक कुराहरूमा सहमति भएपछि मात्रै उम्मेदवार घोषणामा सहज हुने नेताहरुको भनाई छ ।

नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा‘खम्बिर’को संयोजकत्वमा कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकपछि सबै स्थानीय तहमा दलका प्रतिनिधिहरु निरन्तर भेटघाट र छmलफलमा छन् । वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्धार बनाउने भएकाले केही दिन कुर्नुपर्ने नेपाली कांग्रेसका सचिव हिरा पुनले बताए।

गठबन्धन भित्र अविश्वास र दावीबाट पछाडी नहट्दा समयमै तालमेल गरी चुनावी मैदानमा जान असहज भएको मात्रै छैन प्रतिपक्षले धमाधम उम्मेदवार घोषणा गर्दा समेत टुलुटुलु हेर्न बाध्य हुनुपरेको छ ।

जिल्लामा २०७४ को निर्वाचनमा जिसस उपप्रमुख सहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष तथा ४५ वटा वडा मध्ये १५ वटा वडा अध्यक्षमा कांग्रेस विजयी भएको थियो ।

माओवादी केन्द्रले ५ वटा वडा अध्यक्ष जितेको थियो ।त्यस्तै नेकपा एमालेले जिल्ला समन्वय समितिको प्रमुख सहित दुई गाउँपालिका अध्यक्ष ,तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडा अध्यक्षमा विजयी भएको थियो । दुई वटा वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्धार विजयी भएका थिए । भने बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो ।

अहिलेको अवस्थामा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलबीच स्थानीय तहमा तालमेलको सम्भावना कमजोर बन्दै जाने सम्भावना बढेकाले राजनीतिक दलसँग सहमतिका साथै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्ने वातावरण बनाउन अझै सक्रिय रहेको गठबन्धनको भनाई छ ।

Leave a Reply