म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समितिको आज (शनिबार) सदरमुकाम बेनीमा नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा समितिका महासचिव जानकी विश्वकर्माले प्रगति र कोषाध्यक्ष दिलु घतानेले आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।

साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण महिलाहरुमाथि हिंसा हुने भएकाले पेशा तथा व्यवसायमा आबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले पेशा, व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न महिलाहरुलाई सुझाव दिँदै आफ्नो कार्यकालमा बेनी नगरपालिकाको तर्फदेखि महिलाको क्षमता अभिवृद्धि हुने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सल्लाहकार सुदर्शनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष जीवनबहादुर विश्वकर्मा, महिला उद्यम विकास समितिका पूर्व सभापति सिर्जना श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै महिला उद्यमीहरुलाई सङ्गठित गरी उनीहरुको व्यक्तित्व, नेतृत्व र क्षमता विकासको साथै पेशा, व्यवसायमा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अवसरमा उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हुन सफल भूलमाया तिलिजा र हस्तकला उद्यमी मैनादेवी राई विश्वकर्मालाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यसैगरी ढाका उद्यमी तथा प्रशिक्षक दिलु घताने र सिलाइकटाई व्यवसायी तथा प्रशिक्षक मनु नेपालीलाई प्रमाणपत्रले सम्मान गरिएको महिला उद्यम विकास समितिले जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीले आजभन्दा २० वर्षअघि २०५८ साल चैत २८ गते स्थापना भएको महिला उद्यम विकास समितिले पहिलोपटक साधारणसभा आयोजना गरेको हुँदा यसअघि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने प्रयास गरिएको भए पनि कोरोना र लकडाउनका कारणले गर्दा सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रममा म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम महिला उद्यम विकास समितिका सभापति कार्कीको अध्यक्षता र स्वागत, महासचिव जानकी विश्वकर्माको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठको धन्यवादज्ञापनमा सम्पन्न भएको थियो ।

Leave a Reply