स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा मागभन्दा बढी म्यादी प्रहरीका लागि आवेदन परेको छ । आवेदन खुल्ला भएको तेस्रो दिनसम्म ८४७ जनाले आवेदन दिएका छन् । जिल्लामा जम्मा ६ सय ५३ जना माग भएको थियो ।

म्यादी प्रहरीमा भर्ना हुनको लागि चैत ६ गतेदेखि खुलेको आवेदन संकलनमा तीनदिनसम्ममा सो संख्याले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले चैत ११ गतेसम्म आवेदनको समय भएकाले आवश्यकता भन्दा दोब्बर बढी हुने निश्चित भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

जिल्लामा कुल ६५३ जना म्यादी प्रहरी भर्ना हुने भएपनि तीन दिनमा १७७ जना महिला र ६७० जना पुरुषले आवेदन दिएको राईले जानकारी दिनुभयो । आवेदन दिएकाहरुमध्येबाट छनौट भएकाहरुलाई आबश्यक तालिम र प्रशिक्षण दिएर निर्वाचन सुरक्षा प्रयोजनका लागि खटाईने जनाइएको छ ।

दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ ।

म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध गराइने छ । छनोट प्रक्रिया अन्तरगत चैत्र ६ गतेदेखि ११ गतेसम्म फारम वितरण, १५ गतेदेखि २२ गतेसम्म छनौट र चैत्र २८ गतेदेखि तालिम सञ्चालन गरिने जनाएको छ ।

Leave a Reply