तत्कालिन नेकपा (माओवादी)ले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको आज १८ बर्ष पूरा भएको छ ।२०६० साल चैत ७ गते राति ११ बजेदेखि तत्कालिन माओवादीले बेनी आक्रमण गर्दा छियाछिया भएको पोलको चर्चा पनि यस्तै बेलामा हुने गरेको छ ।

मंगलाघाटतर्फबाट माओवादीले सेनाको ब्यारेकमा आक्रमण गर्दा छियाछिया भएको पोल अहिले ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा छ । यो पोल यहाँ पुगेको पनि एकदशकभन्दा धेरै भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि पोलको छेउमा पुगेर धेरै तस्वीर खिच्ने पनि माओावदीकै नेताहरू थिए ।

मध्यरातमा तत्कालिन विद्युत प्राधिकरणका कर्मचारी र पोल लैजानेहरूले रातारात जिल्लाबाट गायब बनाएको पोललाई फिर्ता ल्याउने चर्चा धेरै भयो । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र, पोल राखिएको ठाउँमै पुगेर समेत केही प्रयास भए ।

जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभाले निर्णय समेत गर्यो, बेनी नगरपालिकाले समेत ल्याउन आवश्यक प्रक्रियामा सघाउने प्रतिबद्धता जनायो । तर, प्रतिबद्धता र चासो चर्चामा आउनका लागि मात्रै रहेछ भन्ने पुष्टी अहिले भएको छ । पोल फिर्ता ल्याउने दर्जनौ मौखिक प्रतिबद्धता र लिखित निर्णय मूर्तता नपाउँदै सेलायो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल समेत सकिन लाग्यो । आफ्नै जिल्लाको एउटा घटनामा जोडिएको र भविस्यमा यूद्ध संग्रालय बनाउँदा सबैभन्दा आर्कषक मध्येमा मानिने पोल समेत ल्याउन जिल्लाका जनप्रतिनिधि सहित सरोकारवाला निकाय असफल भए ।

पछिल्लो एकदशक यता ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा रहेको युद्ध पोलबाट त्यहाँ आर्थिक संकलनका लागि राम्रो माध्यम बनेपनि म्याग्दीका सरोकारवाला निकायले टुलुटुलु हेरेर बसेका छन् । केही ब्यक्तिले अनुचित फाईदा लिएर गायब बनाइएको पोल ल्याउने चर्चा केवल मनोरञ्जन र लोकप्रिय बन्नका लागि मात्रै रहेछ भन्ने पुष्टी भएको छ ।

जिसस, बेनी नगरपालिकाले पोल ल्याउन अहिलेसम्म ठोस पहल गर्न सकेको छैन् ।साना–साना योजनामा रमाउने जनप्रतिनिधिको नजरमा पोल पर्न सकेको छैन् ।वडादेखि केन्द्रसम्मका जनप्रतिनिधिले चुनावी चर्चाका लागि पोललाई सम्झिने गरेपनि यूद्ध संग्रालयका लागि आर्कषक मानिने पोलबाट मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रले प्रसस्तै लाभ लिइरहेको छ ।

केन्द्रमा आउने विदेशीको प्रमुख आर्कषक नै सयौं गोली लागेर छियाछिया भएको बिजुलीको पोल बन्ने गरेको छ । नेपालमा चलेको १० बर्षे सशस्त्र युद्धको उदाहरण दिने गरी आयोजना हुने कार्यक्रमका लागि उक्त स्थानको छनौट गर्ने गरिएको छ । पोल फिर्ता दिनका लागि जिल्लाबाट आधिकारिक पत्रको खोजीमा रहेको केन्द्रलाई एउटा पत्र समेत जिल्लाबाट पठाउन सकिएको छैन् ।

पोलको नजिकै भित्तामा अंग्रेजी र नेपालीमा पोलको बारेमा लेखिएको विवरणहरूलाई आफ्नो मोवाइलमा खिच्ने नेपाली पर्यटकले समेत पोल सम्बन्धित जिल्लामै लैजानुपर्ने सुझाव दिने गरेका छन् । २०६० चैत ७ गते तात्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला सरकारी सेना र माओवादी सेनाबीच दोहोर भीडन्तमा बेनी–मंगलाघाट सडकअन्तरगत हाल रहेको सिचाँई कार्यालय नजिक सयौं गोली लागेको पोलबाट केन्द्रले लाखौं आम्दानी गरेको छ ।

पोल नजिकै राखिएको दान पेटिकामा संकलन भएको आर्थिकले समेत त्यसलाई पुष्टी गर्छ । गुठीका सञ्चालक कनकमणि दीक्षितले तत्कालिन समयमा विद्युत प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा विना जानकारी सुटुक्क रातीमा पोल परिवर्तन गरी पाटन ढोका पु¥याएका थिए ।

लामो खोजीपछि सञ्चालक दीक्षितले आवश्यक प्रक्रिया पुरा गरेर आए पोल फिर्ता दिने प्रतिबद्धता जनाएपनि म्याग्दीका सरोकारवाला निकायकै बेवास्ताका कारण फिर्ता ल्याउने साइत जुरेको छैन् । स्थानीय तहको निर्वाचनको मिति तोकिइसकेकाले अव बेनी नगरपालिकाको मेयरमा उम्मेदवारी दिनेहरुको घोषणापत्रमा पोल ल्याउने चर्चा सुरु हुने निश्चित छ ।

बेनी आक्रमणको साँक्षी
माओवादीले बेनी आक्रमण गर्दा गुमाएका हतियारहरु मुस्किलले भेटिने गरेको अवस्थामा पोल एउटा साँक्षीको रुपमा रहेको छ । बेनी आक्रमणका बेलामा भेटिएका हतियार सहित महत्वपूर्ण दस्तावेजहरु तत्कालिन राज्यपक्ष र केही ब्यक्तिले राखेका छन् । बेनी आक्रमण भन्दा वित्तिकै अहिले यो पोललाई सम्झिने गरिन्छ । युद्धका अवशेसहरु बिस्तारै हराउँदै जान थालेको बेलामा नयाँ पुस्ता र विदेशीलाई यूद्ध संग्रालयमार्फत आर्कषित गर्न सकिने ऐतिहासिक महत्व बोकेको पोलका बारेमा सामाजिक सञ्जालमा बेलाबेलामा भाइरल समेत हुने गरेको छ ।

बेनी आक्रमणको क्रममा भेटिएका बन्दुक लगायतका दस्तावेजहरुसंग्रह गरेर भावी पुस्तालाई जानकारी दिने र यूद्ध संग्रालयको प्रचार गर्न सकेमा बेनी घुम्न आउने एउटा मुख्य आर्कषण बन्न सक्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन्। लडाइँका चिन्ह र अवशेषहरुलाई जोगाएर राखिएमा जिल्लामा नयाँ किसिमका पर्यटकहरुलाई समेत बेनीसम्म ल्याउन सकिन्छ । पोलसँगै आक्रमणका बेलामा प्रयोग गरिएका बजारभित्रका केही स्थानमा कृतिम संरचना समेत बनाउन सकिने धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँको भनाई छ ।

Leave a Reply