हेलो सरकारमा उजुरी परेपछि म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी भित्रिने सवारीसाधनबाट लिने गरेको सहयोग शुल्क बन्द भएको छ ।

म्याग्दीको प्रवेश नाका कालिपुलमा संस्थागत विकासका लागि ‘सहयोग’का नाममा जिल्ला बाहिरबाट आउने ट्रक, ट्र्याक्टर, टिपर, जीपबाट रकम उठाउने गरेको बारेमा गुनासो परेपछि जिल्ला प्रशासन कार्यालयले छानबिन थालेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उजुरी परेपछि सवारीसाधनबाट गरिएको असुलीका विषयमा छानबिन थालिएको बताए ।

‘हामीलाई उजुरीको आधारमा छानविन प्रक्रिया अगाडी बढाउन निर्देशन आएको छ,‘उजुरी परेपछि प्रशासनले यसमा चासो राख्दै अनुगमन गर्दा उक्त कार्य नियम विपरित देखियो’ प्रजिअ रानाले भने ।

कानुनविपरीत रकम सङ्कलनका विषयमा म्याग्दी लिखित जवाफ मागिएको र सवारीबाट सङ्कलित रकमको आम्दानी र खर्चको विवरण पेश गर्न म्याग्दी उद्योग वाणिज्य सङ्घलाई पत्राचार गरिएको छ । सडकमा सवारीबाट कुनै पनि बाहनामा रकम सङ्कलन गर्न नपाउने कानुनी नियम रहेको प्रजिअ रानाको भनाई छ । हेलो सरकारमा प्रतिसवारी १ सय देखि ५ सयसम्म सहयोगरकम सङ्कलन गरेको उजुरीमा उल्लेख छ ।

प्रजिअ रानाले कम उठाउनुको कानुनी आधार, विधि, प्रक्रिया र सङ्कलित रकम परिचालनका विषयमा प्रशासनले कानुन अनुसार अगाडी बढ्ने बताए । सङ्घले तिरेको रकम ढुवानी व्यवसायीले सम्बन्धित सामानका धनीबाट लिने गरेकाले त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण परेकाले नियमित आवश्यकता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यता म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले ब्यक्तिगत फाईदाका लागि नलिइएको बताए ।‘हामीसँग प्रस्ट विवरण छ,‘म्याग्दीका ब्यवसायीहरूले आफ्नो सामान लिएवापत दिएको सहयोग हो’ अध्यक्ष कटुवालले भने ।

म्याग्दी उवासंघले संस्थागत संरचना, ब्यवसायीक हित तथा जिल्लामा हुने विपद् लगायतका सामाजिक कार्यमा समेत उक्त सहयोगबातको खर्च गर्ने गरेको जनाएको छ ।

निजी क्षेत्रले ब्यवसायीको हितका लागि मात्रै नभई जिल्लामा हुने हरेक सामाजिक तथा मानवीय सेवामा समेत सहयोग गर्ने गरेकाले सहयोगबाट उठेको रकमबाट बचेको खर्च समुदायको हितमै खर्च गरेको महासचिव अमित बानियाँले बताए ।

यता प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले चन्दा सङ्कलन गरेको रसिदको ठेलीसहित उद्योग वाणिज्य सङ्घका कर्मचारीलाई नियन्त्रणमा लिएर छोडिएको बताए । म्याग्दी उवासंघको यसअगाडीका कार्यसमितिले समेत साधारणसभाको निर्णयानुसार साधारण सदस्यबाट सहयोग उठाउने गरेको थियो ।

पछिल्लो समय एकतर्फी यातायातको बिषयमा प्रहरी प्रशासन र निजी क्षेत्र बिच कार्यान्वयनका विषयमा विवाद उत्पन्न भएको छ । प्रहरी प्रशासनले एकतर्फी नियमित हुने अडान लिइरहेको बेलामा निजी क्षेत्रले कार्यान्वयनले समस्या भएको बताउँदै प्रतिवाद गरेपछि सम्बन्ध समेत चिसिएको छ ।

Leave a Reply