म्याग्दी जेसीज प्रचुर पर्यटकीय सम्भावना बोकेको १४ औं शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको प्रबर्द्धनमा जुटेको छ । बेनी नगरपालिका-९,ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत राज्यको राजधानी समेत रहेको ढोल्ठान राजदरबार ओझेलमा परेपछि जेसीजले स्थानीय संघसंस्था र जनप्रतिनितिसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय तहमा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा समेत सक्रिय रहेको संस्थाले शनिबार ढोल्डानमा राखेको बोर्ड वडा अध्यक्ष बेलबहादुर चोखालले अनावरण गर्नुभएको थियो ।

सोही अवसरमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष चोखालले ढोल्ठान गाउँको शिरमा अवस्थित दरबार क्षेत्रमा पूर्वाधार विस्तार भइरहेकाले केहीबर्ष भित्र घुम्ने आउने पर्यटकलाई समेत सहज हुने बताउनुभयो ।

‘दरबारका केही अवशेषहरु मात्रै छ,‘नयाँ गन्तब्य बनाउन प्रचारप्रसार र पूर्वाधार विस्तारमा प्राथमिकता दिएका छौ’अध्यक्ष चोखालले भन्नुभयो ।दरबार नजिकै पार्क, पदमार्ग सहित अन्य आवश्यक पूर्वाधार विस्तार भइरहेको छ।

दरबार जिर्ण बन्दै जान थालेपछि त्यहाँ रहेका काठपात र फर्निचर स्थानीयले लगेपछि संरक्षणमा समस्या भएकाले दरबार आसपासका क्षेत्रबाट प्राचिन बस्तु लैजान रोक लगाइएको अध्यक्ष चोखालले बताउनुभयो ।

सोही अवसरमा स्थानीय सागर बानियाँले प्राचिनकालिन दरबारको स्वरुपमा दरबार सहितको संरचना आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा म्याग्दी जेसीजका निर्वतमान अध्यक्ष विरेन्द्र श्रेष्ठ र पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले जिल्लाभित्रका ओझेलमा परेका पर्यटकीयस्थलमा म्याग्दी जेसीजको उपस्थितीले प्रचारप्रसारमा सघाएको बताउनुभएको थियो ।

म्याग्दी जेसीजले पर्यटकीयस्थल टोड्के, बेलढुंगा, रुईसे र लभ्लीहिलमा समेत बोर्ड अनावरण सहित विभिन्न कार्यक्रम गरेको शाखा अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीले आफ्नो कार्यकालमा ग्रामिण क्षेत्रको पर्यटन प्रर्बधनमा जोड दिने बताउनुभयो ।

पर्यटन क्षेत्रको प्रचारप्रसार, विपद्, शिक्षा, स्वास्थ्य लगाएतमा जनचेतनामुलक कार्यक्रमले जेसीजको समुदयास्तरमा जेसीजको आवश्यकतालाई थप बलियो बनाउने अध्यक्ष खत्रीको भनाई छ । बोर्ड अनावरण कार्यक्रमको स्वागत कार्यकारिणी उपाध्यक्ष दिनेश बानियाँ, सञ्चालन उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नविन खत्रीले गरेका थिए ।

 

Leave a Reply