म्याग्दीको मंगला गाउँपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ । ग्रामिण ’अल्ट्रासाउन्ट’ कार्यक्रम अन्तरगत पायक पर्ने स्थानमा पुगेर सेवा दिने गरी वडा नं १ कुहुँबाट अभियानको शुभारम्भ गरिएको हो ।

वडाभित्र रहेका गर्भवती महिलालाई स्वस्थ राख्न तथा आधारभुत सेवा तथा समस्याका बारेमा कार्यक्रमले सघाउने गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । ‘अब ’अल्ट्रासाउन्टका लागि बेनीसम्म जानुपदैन्,‘हरेक महिना वडामै पुगेर स्वास्थ्यकर्मीले सेवा दिनुहुन्छ’ उपाध्यक्ष केसीले भन्नुभयो ।

शिविरमा गर्भ परीक्षण गराएका गर्भवतीको पेटमा बच्चाको अवस्था असन्तुलित रहेमा थप उपचारका लागि बेनी अस्पतालमा पठाउने, गर्भवती महिलाले अपनाउनुपर्ने र जोखिम न्यूनीकरणका लागि आवश्यक सुझावसमेत दिईएको उपाध्यक्ष केसीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकार र वन हार्ट परियोजनाको साझेदारीमा सञ्चालित कार्यक्रममा प्रत्येक महिनाको ४ गते बरंजा, ६ गते अर्मन र २० गते कुहुँको स्वास्थ्य शिविरबाट ५ वटै वडाका गर्भवती महिलाले सेवा लिने मंगला गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

अभियानको सुरुवात गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना, लेखा संयोजक लेखनाथ अधिकारी, अनमी राधा आचार्य लगायतको उपस्थिती रहेको थियो ।

हरेक तीन÷तीन महिनामा गर्भवतीलाई चेकजाँच गराई राख्नुपर्ने भएपनि जनचेतना र विविध समस्याका कारण गर्भवती महिलाले चेकजाँच नगर्दा समस्या हुने गरेको छ । वडामै सेवा पुगेपछि गर्भवती महिला समेत उत्साहित छन् ।

यता गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले विगतमा वडास्तरमै पुगेर एकीकृत स्वास्थ्य शिविरमार्फत सेवा समेत दिइएको बताउँदै नवजात शिशुको सुरक्षाका लागि नयाँ अभियानको सुरुवात गरिएको बताउनुभयो । ‘‘कोरोनाको डरले नियमित चेकजाँच प्रभावित भएको थियो,‘समुदायस्तरमै पुगेर दिने सेवा बढाउने सोचमा छौं’ अध्यक्ष रोकाले भन्नुभयो ।

उहाँले निर्माणधिन अवस्थामा रहेको अस्पतालको काम सकिएपछि जिल्ला अस्पतालमा प्राप्त हुने सबै किसिमको सेवालाई गाउँपालिकामै दिने समेत बताउनुभयो । मंगला गाउँपालिका भित्र बार्षिक ४ सयभन्दा बढी गर्भवती महिला रहेकाले समयमै चेकजाँच सहित औषधी सेवन गरेमा मात्रृ, शिशु मृत्युदर समेत घट्ने स्वास्थ्यका जानकारहरुको भनाई छ ।

Leave a Reply