म्याग्दी । राम्रो आम्दानी हुने सुरक्षित जागिर । टाइसुटमा सजिएर कम्प्युटरको किबोर्डसँग खेल्दै पैसा खेलाउन पाइने बैंकको जागिरले धेरैलाई आकर्षित गरेको हुन्छ । तर, जागिरभन्दा आफ्नै व्यवसायलाई उत्तम मानेर पर्वतको जलजला गाउँपालिका-७ लस्तीका युवा यामनाथ आचार्यले कृषि पेसा रोज्नुभएको छ । आचार्यले बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिक रूपमा कालिज पालनमा लाग्नुभएको हो । उहाँले लस्ती कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गर्नुभएको छ ।

३५ लाखको लगानीबाट ‘जंगली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिक पालन सुरु गर्नुभएका आचार्यले यस पेशामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाउनुभएको हो ।

कालिजको मासु र अण्डा अरू पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि कालिज पालनमा लगानी थपेर थप व्यवस्थित बनाएको आचार्यले भन्नुभयो । उहाँको फर्ममा अहिले बिक्री भएर बँचेका एक सयभन्दा बढी कालिज छन् । तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । पौने दुई किलोसम्मको एउटा कालिज तीन हजार पाँच सयदेखि चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

कालिज प्रजातिका चरामा रोग प्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उहाँको भनाइ छ । कालिजका लागि उहाँले रैथाने आहारा (मकै, गहुँ, कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गर्नुभएको छ । त्यसका साथै हरियो भुइँ तथा डालेघाँसबाट पनि उहाँले कालिजलाई दानाको व्यवस्थापन गरेको बताउनुभयो । उहाँको फार्ममा तीनजना व्यक्तिले रोजगारीसमेत पाएका छन् ।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको संख्या बढाउने उहाँको योजना छ । उहाँका अनुसार कालिजलाई दाना र घाँस दुवै दिएर पाल्न सकिन्छ । आहारामा समेत कम खर्च लाग्छ । यद्यपि, कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ । त्यसैले खोर बनाउन भने खर्चिलो हुने उहाँको भनाइ छ ।

आचार्यले फर्ममा करिब ३५ लाख लगानी गरिसक्नु भएको छ । आफ्नै जग्गामा अहिले पूर्वाधार विस्तारको समेत काम भइरहेको र बाख्रा र कालिज पालनलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँको फर्ममा कालिज, टर्की र बाख्रा छन् । तीनवटा पोखरीमा माछापालन पनि सुरु गरिएको छ ।

जलजला गाउँपालिकाले पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रोत्साहनको नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यसकै लागि ४५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ । यद्यपि, यहाँ पछिल्लो समय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन थालिएको हो ।

Leave a Reply